free website hit counter

कृषि बीमा आवश्यकता मात्रै होइन अनिवार्य हो

beemaadmin
२०७६ आश्विन १२, आईतवार

नेपालको अर्थतन्त्र ६०–७० प्रतिशत कृषिमा नै आधारित छ । समग्र देश विकासमा कृषि बीमा आवश्यकता मात्रै होइन अनिवार्य नै छ । कृषिमा लगानी बढाउन आवश्यकता भइरहेको छ । उक्त लगानीको सुरक्षा बीमाले गर्ने हो । बीमाले सम्भावित घटनाबाट हुने क्षतिको पूर्ति गर्ने हो । जसले पुनस्र्थापना गर्न र व्यवसायिक बनाउन सहयोग गर्दछ ।

सरकारले पशु तथा बाली बीमालाई प्रवद्र्धन गर्ने उद्देश्यले जिल्ला र बीमा कम्पनी छुट्याएर जिम्मेवारी दिइसकेको छ । कृषकमाझ जनचेतना फैलाई कृषको पशु तथा बालीको जोखिम हस्तान्तरण गरेर कृषि पेशालाई सुरक्षित गर्ने उद्देश्य सरकारको रहेको छ । तर चेतनाको अभाव र आर्थिक अवस्थाले गर्दा चित्तबुझ्दो गरी पशु तथा बाली बीमामा आकर्षण देखिन सकेको छैन । बाली बीमाको तुलनामा पशु बीमा कृषकको आकर्षण बढ्दै गएको छ । पशुजन्य वस्तुरुको मूल्यवृद्धि र त्यसमा हुने जोखिमका कारण पशु बीमामा आकर्षण देखिएको हो । सरकारले समेत पशु तथा बाली बीमामा ७५ प्रतिशत अनुदान प्रदान गरेको छ । यो जानकारी प्रत्येक किसानको कानमा पुग्नु जरुरी छ । हिजोको दिनमा कृषिका लागि कुनै कोष थिएन ।

हाल आएर अरवौंको सुरक्षाकोष तयार हुँदैछ । जसले आगामीदिनमा बीमा शुल्कमा पुनर्विचार र दाबीमा भुक्तानीको सहज वातावरणको प्रसस्त सम्भावना देखिन्छ । बीमा कोष बढ्दै जाँदा जोखिम धारण गर्नसक्ने क्षमता वृद्धि भई पहुँच र दायरा पनि दिनदिनै बढ्दै जान्छ । समग्रमा कृषिसम्बन्धी सम्पूर्ण उद्योगहरु बीमाको दायरामा आउँछन् र आउन जरुरी पनि छ । सहकारी, विभिन्न समूह, स्थानीय निकायहरुमार्फत् कृषि तथा बाली बीमामा छिटो पहुँच पु¥याउन सकिन्छ । यसरी अघि बढियो भने देशले आर्थिक क्रान्तिमा फड्को मार्न सक्छ ।

गाउँघरमा पालिने एउटा सामान्य भैंसीको मूल्य अहिले एक लाखभन्दा बढी हुन्छ । एक लाख मूल्यको भैंसी बीमा गरियो भने त्यसको वार्षिक किस्ता पाँच हजार पर्न आउँछ, त्यसको ७५ प्रतिशत अर्थात् ३७ सय ५० त सरकारले नै तिरिदिन्छ । बाँकी रहेको १२ सय ५० कृषकले बुझाउँदा भैंसीको जोखिम सुरक्षित हुन्छ । जबकि एक माना घिउले सिंगो भैंसीलाई वर्षदिन सुरक्षा दिन्छ । बीमाको महत्व नबुझेकै कारण गाउँघरमा एउटा भैंसी मर्दा परिवारकै उठिबासै लाग्ने अवस्था छ । त्यसैले बीमाको महत्वका बारेमा सबैका माझमा चेतना फैलाउनु आवश्यक छ ।

  • पशु बीमाका लागि उमेर
  • बीमा गरिने गाईको उमेर दुई वर्षदेखि दश वर्षसम्म ।
  • राँगा–भैंसी तीन वर्षदेखि बाह्र वर्षसम्म ।
  •  बाछी वा पाडा छ महिनादेखि दुई वर्षसम्म
  •  भेडा–बाख्रा–बङ्गुर तीन महिनादेखि बिक्री–वितरणयोग्य नभइन्जेलसम्म ।
  • बहर वा साँडे प्रजननका लागि तीन वर्षदेखि बाह्र वर्षसम्म ।
  • सामान्यतया गाई, भैंसी पहिलो बेतबाट बीमायोग्य मानिन्छन् ।

 

बिक्री वितरणको तरिका
बीमित बाली, पशुपंक्षी बिक्री–वितरण गर्नुपरेमा सम्बन्धित बीमा कम्पनीलाई जानकारी दिनु पर्दछ । हाल सबै कम्पनीहरुका टोलफ्रि नम्बरहरु छन् त्यसै निःशुल्क कल गरेर सबै कुरा बुझ्न सकिन्छ ।

क्षतिपूर्ति पाइने अवस्था
आकस्मिक रूपमा बाढी, पहिरो, भूकम्प, डुबान, चट्याङ, आगलागी, भू–स्खलन, हिउँ, आधिबेहरी, दुर्घटनाजस्ता कारणले पशुको मृत्यु भएमा कुल रकमको अधिकतम ९० प्रतिशत र पूर्णरूपमा स्थायी अशक्त भएमा ५० प्रतिशत रकम क्षतिपूर्ति दिने व्यवस्था छ । तर उक्त घटनाको जानकारी तीन दिनभित्रै दिई आवश्यक कागजातसमेत पेस गर्नुपर्ने हुन्छ ।

(लेखक नेपाल इन्स्योरेन्सका नायब महाप्रबन्धक हुनुहुन्छ)

सम्बन्धित समाचार