काठमाडौं । मन्त्रिमण्डल पुनर्गठन भएको दुई साता बितिसकेको छ । नयाँ मन्त्रीले मन्त्रालयको ब्रिफिङ सकेर काम थालिसकेका छन् । कोही जिल्लाको वस्तुस्थिति अध्ययन तथा स्वागतका लागि पुगिसकेका छन् । तर पुनर्गठनमा अन्यायमा परेको भनिएका मन्त्रीमध्येका कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनाललाई मन्त्रालयको वेवसाइटले भने न्याय नै गरेको छ । मन्त्रालयका कर्मचारीहरुको माया पाएरै होला अहिलेसम्म मन्त्रालयको वेवसाइटको सूचिमा पहिलो नम्बरमै उनको तस्बिर मन्त्रीको रुपमा उल्लेख छ । राज्यमन्त्री रामकुमारी चौधरीलाई पनि मन्त्रालयका कर्मचारीहरुले हटाएका छैनन् ।
मन्त्रिमण्डलको पुनर्गठनको सदस्यमा सबैभन्दा क्रान्तिकारी मानिएका घनश्याम भुसालले मन्त्रालय सम्हालेको दुई साता बितिसक्दा पनि मन्त्रालयका प्राविधिकहरुले उनको तस्बिर र विवरण राख्न नराखेका कारण सर्वसाधारणमा भ्रम उत्पन्न भएको छ । कृषिमा क्रान्तिकारी छलाङ मार्ने योजना बनाएका जनतामा आशालाग्दा नेताका रुपमा देखिएका भुसालले नेतृत्व गरेको मन्त्रालयका कर्मचारीहरुले अरु काममा पनि यस्तै ढिलाई गरे भने उनको कृषिक्रान्ति कता पुग्ला ? उनको तस्बिर कहिले वेवसाइडमा चढाउने फुर्सद कर्मचारीलाई होला ?