काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा बैंकले निक्षेप र कर्जा विस्तारमा उल्लेख्य वृद्धि गरे पनि कर्जा नोक्सानी व्यवस्थाका लागि ठूलो रकम छुट्याउनुपर्दा खुद नाफा र लाभांश क्षमतामा उल्लेख्य दबाब परेको देखिएको छ।
बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँबाट २९.५२ प्रतिशत घटेर २ अर्ब ६३ करोड ६ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै खुद ब्याज आम्दानी ३.४५ प्रतिशत घटेर ९ अर्ब १२ करोड १५ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा पनि ५ अर्ब २१ करोड ८ लाख रुपैयाँबाट घटेर ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ।
नाफा घट्नुको प्रमुख कारण कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा भएको तीव्र वृद्धि हो। अघिल्लो वर्ष ६३ करोड ७ लाख रुपैयाँ रहेको यस्तो व्यवस्था गत वर्ष बढेर १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुगेको छ। यसले बैंकको नाफामा प्रत्यक्ष असर परेको देखिन्छ।
यद्यपि व्यवसाय विस्तारतर्फ बैंकको प्रदर्शन सकारात्मक रहेको छ। गत असारसम्म बैंकको निक्षेप १८.३६ प्रतिशतले बढेर ३ खर्ब ४७ अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी १६.२४ प्रतिशतले वृद्धि भएर २ खर्ब ४७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। यसले बैंकले व्यवसाय विस्तारलाई निरन्तरता दिएको संकेत गर्छ।
लाभांश वितरण क्षमतामा भने उल्लेख्य संकुचन देखिएको छ। नियामकीय समायोजनपछि बैंकको खुद वितरणयोग्य नाफा ५७ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्ष २ अर्ब ४३ करोड ३० लाख रुपैयाँ थियो। सञ्चित नाफा समायोजनपछि कुल वितरणयोग्य नाफा १ अर्ब २६ करोड २१ लाख रुपैयाँ कायम भएको छ। यस आधारमा प्रतिशेयर वितरणयोग्य नाफा ६ रुपैयाँ ५४ पैसा रहेको छ, जसले यस वर्ष लाभांश वितरण क्षमता कमजोर भएको संकेत गर्दछ।
बैंकको कुल चुक्ता पुँजी १९ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा सञ्चित नाफासहित कुल इक्विटी ३८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।
समग्रमा हेर्दा कृषि विकास बैंकले व्यवसाय विस्तार र निक्षेप–कर्जा वृद्धिमा सन्तोषजनक प्रगति गरे पनि बढ्दो कर्जा नोक्सानी व्यवस्था तथा घट्दो आम्दानीका कारण नाफा र लाभांश क्षमतामा दबाब परेको वित्तीय विवरणले देखाएको छ।