काठमाडौं । अविरल वर्षा, बाढी तथा पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडकको जग नै खस्किएर भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार बाढीले सडकको ठूलो हिस्सा कटान गर्नुका साथै सडकको भित्ता समेत भासिएको छ। सडकको अवस्था जोखिमपूर्ण रहेकाले अहिले दुवैतर्फबाट सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था छैन।
सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौँ भित्रिने तथा बाहिरिने सयौँ सवारीसाधन र हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।
यसैबीच, त्रिशूली र नारायणी नदीमा जलसतह अत्यधिक बढेको छ। राजमार्गका विभिन्न स्थानमा निरन्तर पहिरो खसिरहेकाले पृथ्वी राजमार्गमा यात्रा थप जोखिमपूर्ण बनेको प्रहरीले जनाएको छ।
सडकको क्षतिका कारण तत्काल यातायात सञ्चालनमा ल्याउन कठिनाइ हुने देखिएको छ। प्रहरीले सडकको अवस्था नबुझी जोखिम मोलेर यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।