मध्यचीनको शहर वुहानबाट सिर्जत कोरोना भाइरसको संक्रमण यतिखेर ९० देशमा फैलिइसकेको छ । आइतबार बेलुकासम्मको आंकडाअनुसार संसारभरि यो भाइरसबाट प्रभावित जनसंख्या १ लाख १० हजार ९२ पुगिसकेको छ भने ३ हजार ८ सय ३१ जनाको मृत्यु भइसकेको छ । चीनमा मात्र मृतकको संख्या ३ हजार १ सय २० पुगेको छ । चीनपछि दक्षिण कोरियामा बढी यो भाइरस फैलिएको छ तर मर्नेको संख्या भने इटलीमा बढी छ । त्यहाँ ३ सय ६६ जनाको ज्यान गइसकेको छ । त्यसपछि इरानमा धेरैको मृत्यु भएको छ । अमेरिकामै यसबाट प्रभावित हुनेको संख्या ४ सय ५४ पुगिसकेको छ भने २२ जनाको ज्यानै गएको र ३४ राज्यमा फैलिएको छ । इटली सरकारले त १ करोड ६० लाख मानिसको बसोबास रहेको लोम्बार्डीलगायत १४ वटा उत्तरी प्रान्तलाई क्वारेन्टाइन क्षेत्र घोषणा गरेको छ । त्यहाँका जनतालाई अप्रिल ३ सम्म घरबाट बाहिर ननिस्कन आदेश दिइएको छ । त्यो क्षेत्रमा अन्य क्षेत्रका बासिन्दालाई पनि प्रवेश बर्जित छ ।
संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि यसबारे अनेक भ्रम सिर्जना गर्ने प्रयास चारैतिरबाट भएको छ । यसैबीच दुई जना उपन्यासकार सिल्भिया ब्राउन र डिन कोन्ट्जको चर्चा–परिचर्चा चर्काे छ । डिन कोन्ट्जले ३९ वर्षअघि र सिल्भियाले १२ वर्षअघि लेखेको उपन्यासमा कोरोना त होइन तर उक्त रोगसित मिल्दोजुल्दो भाइरस फैलिने उल्लेख गरेका कारण उनीहरु चर्चामा आएका हुन् । संयोगले दुवै अमेरिकी हुन् । सिल्भियाको निधन भइसकेको छ ।
सन् १९४५ मा जन्मेका डिन ख्यातिप्राप्त उपन्यासकार हुन् । कविता, लघुकथा र पटकथा पनि लेख्छन् । भूतप्रेत, अपराध रोमाञ्चले भरिपूर्ण, रहस्य, विज्ञान र काल्पनिक उनको लेखनका विधा हुन् । डेभिड एक्स्टनलगायत १९ वटा छद्म नामले साहित्य सिर्जना गर्छन् । सन् १९८१ मा एउटा उपन्यास लेखे, ‘द आइज अफ डार्कनेस ।’ उक्त उपन्यासमा एउटा जैविक हतियारबारे उल्लेख थियो, जसको नाउँ हो– वुहान ४०० । पुस्तकमा एकजना चिनियाँ वैज्ञानिक ली चेन अमेरिकामा बसाइँ सर्दा वुहान–४०० नामक जैविक हतियारको फ्लपी बोकेको उल्लेख छ ।
लेखकले सो हतियार वुहानबाहिरको प्रयोगशालामा विकसित गरिएको काल्पनिक कुरा लेखेका थिए । समयक्रममा कोरोना भाइरस चीनको वुहान शहरबाटै शुरु भएपछि उनले लेखेको कुरा कालान्तरमा मेल खान पुगेको चर्चा चलाइएको हो । डिनले उपन्यासमा उल्लेख गरेको नाउँ ‘वुहान’ बाहेक अरु कुनै तथ्यसित मेल खाँदैन । उनले यसबाट मानवबाहेक अरु जीवजन्तुलाई असर नपर्ने उल्लेख गरेका छन् जबकि कोभिड–१९ जीवजन्तुबाट मानवमा संक्रमण भएको तथ्य उजागर भइसकेको छ । उनले यो भाइरसको संक्रमण भएको एकै मिनेटमा मानिसको मृत्यु हुने लेखेका थिए, जबकि चीनमा संक्रमित ८० हजारमध्ये ६० हजारभन्दा बढी उपचारपछि घर फर्किसकेको स्थिति छ । उनको उपन्यासमा यसबाट प्रभावित सतप्रतिशतको मृत्यु हुन्छ भन्ने उल्लेख छ तर तथ्यले बोल्दैछ, संक्रमितमध्ये मृत्यु हुनेको संख्या दुई प्रतिशतभन्दा बढी छैन । त्यसैले भन्न सकिन्छ, वुहान–४०० र वुहानबाट फैलिएको भनिएको कोरोना भाइरस एउटा संयोग मात्रै हो ।
कोरोना भाइरस यत्रतत्र फैलिएपछि चर्चामा आएको अर्को नाउँ हो– सिल्भिया ब्राउन । सिल्भिया आफूलाई स्वघोषित भविष्यवक्ता र आत्मासित वार्तालाप गर्न सक्ने दाबी गर्थिन् । उनले पनि सन् २००८ मा एउटा पुस्तक लेखिन्, ‘इण्ड अफ डेज ।’ उक्त पुस्तकको पेज नं. ३१२ मा लेखेकी थिइन्, सन् २०२० मा निमोनियाजस्तो एउटा यस्तो खतरनाक रोग विश्वभर फैलिनेछ । यसले मानिसको फोक्सो र श्वासनलीमा आक्रमण गर्नेछ, यो रोगको उपचार कुनै औषधिबाट हुने छैन । रोग एकैचोटि सर्वत्र फैलिनेछ र हराउँदै पनि जानेछ । १० वर्षपछि फेरि देखा पर्नेछ । त्यसपछि भने सदाका लागि निर्मूल हुनेछ ।’
सिल्भियाले उपन्यासमा उल्लेख गरेको एउटा हरफको आधारमा उनको भविष्यवाणी मिल्न पुगेको चर्चा भाइरल बन्न पुगेको हो । यसलाई पनि एउटा संयोगबाहेक केही मान्न सकिँदैन । असामान्य र परलौकिक विषयमा आधारित भएर करिब ४० वटा पुस्तक लेखेकी उनी पाँच वर्षको हुँदै आफूमा अभौतिक शक्ति देखापरिसकेको दाबी गर्थिन् । त्यसपछि आफूले आत्मिक घटनाको व्याख्या गर्नसक्ने भएको प्रचार गर्थिन् । उनी सिधै स्वर्ग र परिचक्रको अवलोकन गर्न सक्छु भन्थिन् । र, पछिपछि टेलिभिजनमा ‘भूतप्रेतको कथा’ सुनाउन थालिन् । उनले गरेको भविष्यवाणी एकाधबाहेक गलत सावित भएका छन् ।
सिल्भियाले ल्यारी किङ शोमा आफ्नो मृत्यु ८८ वर्षको उमेरमा हुने भविष्यवाणी गरेकी थिइन् तर सन् २०१३ मा ७७ वर्षकै उमेरमा देहावसान भयो । सिल्भिया झूटो भविष्यवाणी मात्र गर्दैन थिइन्, आपराधिक गतिविधिमासमेत संलग्न थिइन् । सन् १९९२ मा चोरीको केशमा पक्राउ परिन् । समाजमा नकारात्मक सन्देश र हल्ला फिँजाएको आरोपमा । उनी र उनका तेस्रा पतिदेव (चार जना लोग्ने भएमध्ये) केन्जिल डाल्जेल ब्राउनमाथि बैंक घोटाला गरेको अभियोगमा संघीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको थियो, जुन पछि अदालतमा प्रमाणित भयो । त्यसैले आपराधिक चरित्र बोकेकी र गलत भविष्यवाणी गर्ने गरेकी सिल्भियाले कोरोना भाइरसबारे गरेको भविष्यवाणी मिल्यो भन्नु गलत हुन्छ ।
यसबीच कोरोना भाइरसको कारण चीनलाई विश्वबाट एक्ल्याउने प्रयासमा लागेको अमेरिकाले नै यो भाइरस बनाएको दाबी एउटा जापानी सञ्चारमाध्यमले हालै गरेको छ । ‘आसाही कर्पोरेशन अफ जापान टिभी’ ले गत वर्ष जाडोयाममा अमेरिकामा इन्फ्लुएन्जाबाट १४ हजार प्रभावित भएको आंकडा प्रस्तुत गरेको छ । उक्त टिभीले भनेको छ, ‘गत अक्टोबरमा चीनको वुहानमा सम्पन्न मिलिटरी गेममा भाग लिन पुगेका अमेरिकी खेलाडीले कोरोना भाइरस प्रवेश गराएको हुन सक्छ ।’ जापानी टिभीले सन् २०१० यता अमेरिकामा सिजनल फ्लुबाट वर्षेनी ४ करोड ५० लाख जनता ग्रसित हुँदै आइरहेको आंकडा पनि प्रशारण गरेको थियो ।
(जनआस्था साप्ताहिकबाट)