टोकियो । चिनियाँ राष्ट्रपतिको जापान भ्रमण स्थगित भएको छ । टोकियो र बेईजिङ चिनियाँ राष्ट्रपती सि जिनफिगंको आसन्न राजकिय भ्रमण स्थगित गर्न सहमत भएको हो । चिनमा कोरोना भाईरसको संक्रमणले पारेको असर र जापानमा फैलंदो क्रममा रहेको भाईरसका कारण दुवै देश सि को आसन्न भ्रमण तत्कालको लागि स्थगित गर्न सहमत भएका हुन् । आधिकारीक रुपमा यसै साताको अन्त्यमा सि को भ्रमण रद्द बारे जापानी प्रधानमन्त्री शिन्जो आबेले पुष्टि गर्ने भएका छन् ।
प्रधानमन्त्री कार्यालय श्रोतलाई उदृत गर्दै जापानको क्योदो समाचार संस्थाले उल्लेख गरे अनुसार अप्रिल पहिलो साता जापान भ्रमणमा आउने तय भएका चिनियाँ राष्ट्रपती सिको भ्रमण स्थगित गर्न गतसाता दुवैदेशका अधिकारीहरु सहमत भएका हुन् । १२ बर्ष पछि हुन लागेको राजकिय भ्रमण रद्द भएपनि अर्को मितिभने तय भएको छैन । दुवै देशका परराष्ट्र अधिकारीहरुले घटनालाई नजिकबाट नियालीरहेको र अवस्था हेरेर नयाँ मिति तय गरिने बताईएको छ ।
यसअघि सन् २००८ मा चिनियाँ राष्ट्रपती हु जिन्ताओले जापानको राजकिय भ्रमण गरेका थिए । चिनियाँ राष्ट्रपतीको भ्रमण हालको लागि टरेसँगै आगामी भ्रमण यस बर्षको अन्त्यतिर मात्र हुने ठानिएको छ । आगामी जुलाईमा टोकियो ओलम्पिक तथा लगत्तै हुने पारा ओलम्पिक खेलका कारण सि को जापान भ्रमण कम्तिमा ६ महिनाका लागि टरेको जापानी समाचार संस्था जापान टाईम्सले उल्लेख गरेको छ ।
जापानी प्रधानमन्त्री आबे नेतृत्वको प्रतिनिधिमण्डलले चिनियाँ अधिकारीहरुलाई अहिलेको समय भ्रमणको लागि अनुपयुक्त भएको बताएपछि चिनियाँ टोली भ्रमण रद्द गर्न तयार भएको श्रोतलाई उदृत गर्दै अर्को समाचार संस्था माईनिचिसिम्बुनले उल्लेख गरेको छ । चिनियाँ राष्ट्रपति सि जिनफिगंले जापानको राजकिय भ्रमणका क्रममा सम्राट नारुहितोसँग राजदरवारमा भेटवार्ता गर्ने कार्यतालिका समेत रहेको थियो । जापानी सम्राटको भेटवार्ताको कार्यक्रम सामान्यतया एक महिना अघिनै हुने गर्दछ । गत फेब्रुवरी अन्तिम साता सि को भ्रमण तयारीमा चिनियाँ उच्च कुटनीतिक अधिकारी यान्गं जेईचि टोकियो आएका थिए । तर जापानी प्रतिनिधिमण्डलले बढ्दो कोरोना भाईरसको संक्रमणका कारण भ्रमणको लागि अनुकुल समय नरहेको सन्देश बेईजिगं पठाएपछि चिनले सि को जापान भ्रमण स्थगित गर्न सहमती जनाएको हो ।