काठमाडौं । नेपाल सरकराले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषलाई नेपाल बैंकले टेवा दिएको छ । नेपाल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा मौज्दात रहेको ३ करोड ४६ लाख रकमको चेक नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. युवराज खतिवडालाई बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले हस्तान्तरण गरेका छन् ।
बैंकले हरेक बर्ष आफ्नो मुनाफाको १ प्रतिशत बराबरको रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको र उक्त कोषमा जम्मा भएको रकम नेपाल राष्ट्र बैंकले निर्देशन गरे बमोजिम विभिन्न आर्थिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक प्रकोप, शिक्षा, स्वस्थ्य, सरसफाई, वातावरण संरक्षण तथा अन्य सामुदायिक हित संरक्षण लगायतका क्षेत्रहरुमा खर्च गर्दै आएको छ ।
हाल देशभर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण तथा कोरोना भाइरसका कारणबाट सृजना हुन सक्ने जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि नेपाल सरकारले चालेका कदममा साथ दिन मौद्रिक नीति, २०७७/७८ मा भएको व्यवस्था तथा नेपाल राष्ट्र बैंकबाट भएको निर्देशन अनुसार उक्त रकम हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले सरकारले चालेका कदमहरुमा बैंकको सदैव साथ रहने र कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल बैंकले सवै भन्दा पहिला सहयोगको घोषण गरेको र हालसम्म संघिय सरकारको कोषमा रु. ४ करोड ४६ लाख र प्रदेश सरकारहरुलाई रु.५ लाखका दरले रु. ३५ लाख गरी कुल रु। ४ करोड ८१ लख आर्थिक सहयोग प्रदान गरिएको जानकारी गराए ।