free website hit counter

कोरोनाकाे जोखिम बहनको पक्षमा बीमा कम्पनी

beemaadmin
२०७६ फाल्गुन २२, बिहीबार

काठमाडौं । संसारलाई आतंकित बनाएको कोरोना भाइरसको संक्रमण अहिले ८५ भन्दा बढी मुलुकमा पुगिसकेको छ । ठूल्ठूला महामारीको जोखिम बीमा कम्पनीले बहन गर्ने पर्छ भन्ने व्यवस्था छैन । तर कोही व्यक्तिले स्वास्थ्य बीमा गरेको छ भने उसलाई जुसुकै रोग लागे पनि बीमा कम्पनीले जोखिम बहन गर्नुपर्ने हुन्छ । पुनर्बीमा कम्पनीहरुले कोरोना संक्रमणको जोखिम बहन नगर्न बीमा कम्पनीहरुलाई पत्राचार गरेको बताइए पनि बीमा कम्पनीहरु भने जोखिम बहन गर्नुपर्ने पक्षमा देखिएका छन् । संकटको घडीमा बीमा कम्पनीले आफ्नो इमान्दारिता र दायित्व निर्वाह गर्नुपर्ने बताएका छन् ।

छिटो दाबी भुक्तानी दिनुपर्छ
शिवनाथ पाण्डे, प्रमुख कार्यकारी अधिकृत, सूर्य लाइफ इन्स्योरेन्स, अध्यक्ष जीवन बीमक संघ, नेपाल


मान्छेको मृत्यु भइसकेपछि कारण खोजेर बीमा कम्पनी बस्नु हुँदैन । कोरोना संक्रमणको सवालमा त झन् बीमा लेखमा नै पुरक बीमालेखमा घातक रोगहरुको सुविधाअन्तर्गत सेवा दिनुपर्छ । जनतालाई सेवा दिने हो, दुःख दिन होइन । मानिसको उपचार र मृत्यु जस्तो संवेदनशील विषयमा धेरै बहस गर्नु हुँदैन । जतिसक्दो छिटो दाबी भुक्तानी दिनुपर्दछ ।

 

अब ट्राभल इन्स्योरेन्समा कोरोनाको जोखिम बहन हुँदैन

चंकी क्षेत्री, कार्यकारी अधिकृत, सगरमाथा इन्स्योरेन्स, महासचिव नेपाल बीमक संघ


अहिले पुनर्बीमा कम्पनीहरुले बीमकहरुलाई कोराना भाइरस पहिचान भइसकेको अवस्थामा र यसले विश्वभर संक्रमण गराइसकेको अवस्थामा ट्राभल र मेडिकल इन्स्योरेन्समा दुर्घटना र विरामी पर्दा दिइने खर्चमा यदि अब उप्रान्त कोरोना भाइरसको कारणले भएको खर्च दिन सकिँदैन भन्ने हो तर स्वास्थ्य बीमा गराइसकेको व्यक्तिको हकमा त्यो लागू हुँदैन । पहिल्यै लिइसकेको बीमा लेखमा यसको कुनै शर्तनामा उल्लेख नभएको हुँदा त्यस्ता व्यक्तिले कोरोना लागेर गराएको उपचारको खर्च पाउने निश्चित छ । यो रोग यसअघि परिचित नभए पनि अब बल्ल परिचित भएका कारण ठूलो क्षति हुने आशंकाकै कारण पुनर्बिमा कम्पनीहरुले जोखिम बहन नगर्ने भन्दै पत्राचार गरेका हुन् ।

 

जोखिम बहन हुन्छ
बिक्रान्त पाण्डे, नायव महाप्रबन्धक, नेपाल इन्स्योरेन्स

संकटको घडीमा जोखिम बहन गर्ने भनेकै बीमाले हो । २०७२ सालको विनासकारी भूकम्पका बेला कुनै पनि बीमा कम्पनीले जोखिम बहद गर्दैनौ भनेनन् । यसैगरी अहिलेको महामारीमा पनि बीमा कम्पनीले जोखिम बहन गर्नुपर्छ । यो हाम्रो नैतिक कर्तव्य पनि हो । हामीले जारी गरेको कुनै पनि बीमालेखमा कोरोना उल्लेख छैन । त्यसकारण कोरोना या जुनसुकै कारणले विरामी भए पनि त्यसको उपचारखर्च बीमा कम्पनीले व्यहोर्नुपर्छ । हामीले धैर्यता राखेर समाधान खोज्नुपर्छ । यस्ता संक्रमण आइरहन्छन् हामीले त्यसको जोखिम बहन गर्नुपर्छ ।

 

कारण जे भए पनि दाबी भुक्तानी दिनुपर्छ

माधव शर्मा, नायव महाप्रबन्धक, सूर्य लाइफ इन्स्योरेन्स

जीवन बीमामा मृत्युको कारकतत्व जे भए पनि क्षतिपूर्ति दिइन्छ तर नियोजित हुनु हुँदैन । कोरोनाका कारण मृत्यु भएमा क्षतिपूति नदिने भन्ने हुँदैन । यस्तै जोखिमको बहन गर्न नै बीमाको परिकल्पना गरिएको हो ।

सम्बन्धित समाचार