free website hit counter

कोरोना बीमाको भुक्तानी चुनाव अघिबाटै थाल्ने तयारी

beemaadmin
२०७८ चैत्र १०, बिहीबार

काठमाडौं । चुनाव नजिकिँदै गर्दा आफ्नो दायित्वमा रहेको कोरोना बीमा भुक्तानी अगाडि बढाउने अवस्थामा सरकार पुगेको छ । नेपाल सरकार अर्थमन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका लागि एक अर्ब रुपैयाँ निकासा गर्न सहमत भएको छ । नेपाल सरकारले आफ्नो दायित्व अन्तर्गतको ११ अर्ब ४३ करोड ९६ लाख ८९२ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । नेपाल सरकारले आफ्नो दायित्वको रकम भुक्तानी नदिदा काम गर्न अफ्ठ्यारो परेको भन्दै बीमा समितिले पटक पटक अर्थमन्त्रालय समक्ष अनुरोध गर्दै आइरहेको छ । समितिले पटक पटक अनुरोध गर्दा बल्ल बल्ल सरकार एक अर्ब निकासा गर्न तयार भएको अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए । बैशाख दोस्रो साताबाट निर्वाचन आचार संहिता लागु हुने भएकाले सरकारले त्यस भन्दा अगाडि अर्थमन्त्रालयले एक अर्ब रुपैयाँ निकासा गर्ने प्रतिवद्धता व्यक्त भएको बताइन्छ । कोरोना बीमा मापदण्ड अन्तर्गत बीमा कम्पनीहरुमा १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार ८९२ रुपैयाँको दाबी परेको छ । जस मध्ये मापदण्ड अनुसार बीमा कम्पनीहरुले एक अर्ब, नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब, बीमा कम्पनीको महाविपत्तीकोषबाट ५० करोड र बीमा समितिबाट एक अर्ब सहित साढे तीन अर्ब रुपैयाँको दाबी भुक्तानी भइसकेको छ । यस भन्दा माथिको दायित्व नेपाल सरकारले बेहोर्ने भएकाले बीमा समितिले नेपाल सरकार समक्ष ११ अर्ब ९३ करोड रुपैयाँको प्रस्ताव पेश गरेको छ । दाबी भुक्तानीका लागि अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक कार्यक्रममै कयौ पटक प्रतिवद्धता व्यक्त गरे पनि उनले अहिलेसम्म एक रुपैयाँ पनि निकासा गर्न सकेका छैनन् ।

सम्बन्धित समाचार