काठमाडौं । जति सजिलो तरिकाले कोरोनाको जोखिम बहन गर्ने साहस बीमा समितिले गरेको थियो दाबी भुक्तानी प्रक्रियासम्म आइपुग्दा कोरोना बीमाले बीमा व्यवसायमाथि नै प्रश्न नउठाउला भन्ने अवस्था आएको छ । कोरोना बीमाको दावी भुक्तानी हुन बाँकी रकम ५१ करोड ८८ लाख रुपैयाँ नाघेको छ ।
कोरोना बीमा पुलका अनुसार शुक्रबारसम्मको तथ्याङ्क अनुसार पाँच हजार तीन सय ६१ जनाको कोरोना बीमा दावी भुक्तानी बाँकी छ । हालसम्म ६ हजार १७८ जनाको बीमितिले कोरोना बीमाको दावी भुक्तानीको लागि पेश गरेकोमा हालसम्म ८१७ जनाले मात्रै दावी भुक्तानी पाएका छन् । बीमा समितिले कोरोना बीमाको दावी भुक्तानीमा विविध अबरोध सिर्जना गरेकोले ठूलो संख्यामा कोरोना बीमितले दावी भुक्तानी पाउन सकेका छैनन् ।
कोरोना बीमाको दावी भुक्तानीको लागि परेको आवेदन सात हजार पुग्नै लागेको अनुमान गरिएको छ । बीमा पुलमा राष्ट्रिय कम्पनीको तथ्याङ्क अपडेट भएको छैन । राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्क अद्यावधिक गर्दा सात हजार पुग्ने अनुमान गरिएको छ । कोरोना बीमा मापदण्ड २०७७ मा एक अर्ब रुपैयाँसम्मको दायित्व मात्रै बीमा कम्पनीले व्यहोर्नेछन् । बाँकी दायित्व कसले व्यहोर्ने भन्नेमा विवाद कायमै छ ।
कोरोना बीमाको बक्यौता धेरै बाँकी रहँदा आगामी दिनमा दावी भुक्तानीमा थप जटिलता सिर्जना हुने देखिएको छ । कोरोना बीमा दावी भुक्तानीमा भएको ढिलाईबारे बीमा समिति मौन रहँदै आएको छ । कोरोना बीमा गर्नेको संख्या पनि बृद्धि भएको छ । पछिल्लो तथ्याङ्क अनुसार कोरोना बीमा गर्नेको संख्यामा अझै बढिरहेको छ । हालसम्म १३ लाख ९२ हजार ७८२ जना कोरोना बीमालेखबाट संरक्षित भएका छन् । गत भदौं २९ गते बीमा समितिले कोरोना बीमा पोलिसी र कोरोना बीमा मापदण्ड २०७७ संशोधन गरेपछि कोरोना बीमा पोलिसी बिक्री हुन छोडिसकेको छ ।