free website hit counter

कोरोना संक्रमणको दोस्रो चरणमा नेपाल, लकडाउनको समय बढाउन सुझाव

beemaadmin
२०७६ चैत्र २२, शनिबार

काठमाडौं । एकै दिन तीन जना कोरोना संक्रमित भेटिएसँगै नेपाल दोस्रो चरणमा पुगेको छ । सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको हो । त्यसैले लकडाउनलाई कडाइका साथ पालना गर्न र घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा सघाउन सरकारले सबैलाई पुनः आग्रह गरेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना संक्रमण भएको जानकारी दिँदै नेपालमा कुल संक्रमितको संख्या ९ पुगेको जानकारी दिएको छ । पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । ४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै थिइन् ।

उनीहरुलाई आ–आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनै जनामा संक्रमण देखिएको हो । उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ । कैलालीकी ३४ वर्षीया महिला अर्का एक युवककी भाउजू हुन् । उनको ट्राभल हिस्ट्री छैन । यसअघि नेपालमा विदेशबाट आएका व्यक्तिहरुमा मात्र कोरोना देखिएको थियो । तर, कैलालीमा भने बाहिरबाट आएका व्यक्तिबाट घरमै रहेको अर्को व्यक्तिलाई सरेको पाइएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सरेको नेपालमा पहिलो घटना हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले भने, संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पहिलो केस हो नेपालमा । त्यसैले हामी दोस्रो चरणमा प्रवेश गरेका छौं । यसलाई हामी लोकल ट्रान्समिसन भन्छौं । विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार लोकल ट्रान्समिसनलाई कोरोना संक्रमणको दोस्रो चरण भनिन्छ । दोस्रो चरण ‘कम्युनिटी ट्रान्समिसन’ हो । ‘कम्युनिटी ट्रान्समिसन’ महामारी पूर्वको अवस्था हो । त्यसैले अझै बढी सतर्कता अपनाउनुपर्ने डा. देवकोटा बताउँछन् । डा. देवकोटाले नेपालमा कोरोना संक्रमण फैलिने थप जोखिम बढेपछि क्वारेन्टाइनमा बस्ने अवधि बढाउनुपर्ने देखिएको बताए ।

सम्बन्धित समाचार