free website hit counter

खुकुलो हुँदैछ उपत्यकामा निषेधाज्ञा

beemaadmin
२०७७ भाद्र २३, मंगलवार

काठमाडौं । रोगभन्दा भोकको अवस्था चिन्ताजन हुन लागेपछि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउने तयारी भइरहेको छ । गृहमन्त्रालयको निर्देशन बमोजिम ठेलागाडा, फुटपाथमा सामान बिक्री गर्नेदेखि तल्लो तह र तप्काका मानिसको हातमुख जोडिने गरी निषेधाको मोडालिटी परिवर्तन गर्न लागिएको थाहा भएको छ ।
बुधबार रातिसम्म जारी रहने निषेधाज्ञाबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सुरक्षा निकाय, उद्योगी र व्यापारी, सरकारी चिकित्सकबीच भर्चुअल बैठक सुरु भएको छ । कोरोना संक्रमण बढेपछि तीनवटै जिल्लाले भदौ ४ गतेदेखि निषेधाज्ञा लगाएका छन् । तेस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार मध्यराति सकिँदैछ । तर अझै संक्रमण नियन्त्रणमा नआएकाले पूर्ण रुपमा खुला गर्न नहुनेमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एकमत छन् । हालकै अवस्थामा निरन्तरता दिँदा पनि जनस्तरबाट विरोध हुनसक्ने प्रमुख जिल्ला अधिकारीहरुको बुझाइ छ । गृह मन्त्रालयले पनि निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी खाका प्रस्तुत गर्न भनेको छ ।

मंगलबारको संवादपछि निस्किने निष्कर्षबारे गृहसचिव महेश्वर न्यौपानेलगायतसँग छलफल गरेर उपत्यकाको निषेधाज्ञाबारे निर्णय हुने स्रोतको भनाइ छ । त्यसैले मोडालिटी फेर्नुपर्ने अवस्था आएको छ । स्रोतका अनुसार दुई वटा प्रस्ताव आएका छन् । पहिलो, एक साता निषेधाज्ञा थपेर रोजगारीका क्षेत्रलाई खुला गर्ने । दोस्रो, जोर–विजोर प्रणाली लागू गर्ने गरेर सवारी साधन पनि चल्न दिने । यद्यपि जोर–विजोर प्रणाली यसै हप्ता लागू गर्ने वा एक सातापछि भन्ने टुंगो लागिसकेको छैन । ४ भदौबाट जारी निषेधाज्ञाका कारण एक सातापछि संक्रमण दर पनि घट्दै जाने कतिपय प्रशासकको विश्लेषण छ । त्यसैले तत्काललाई उद्योग, कलकारखाना र पसलहरु स्वास्थ्य मापदण्ड पालना गरेर खुला गर्न दिनुपर्ने उनीहरुको धारणा छ ।

सम्बन्धित समाचार