free website hit counter

खुशीको खबर, कोरोनाबाट मर्नेको संख्या घट्दो

beemaadmin
२०७७ बैशाख २९, सोमबार

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा आतंक फैलाइरहेको कोरोना सङ्क्रमणबाट विश्वभरबाट २ लाख ८४ हजार मानिसको ज्यान गइसक्दा विज्ञानले कोरोना विरुद्ध सफलता पाउन सकेको छैन । थुप्रै प्रयासहरु भइरहे पनि अहिलेसम्म कोरोनाको आतंक रोक्ने कुनै औषधि पत्ता लागेको छैन । तर समय क्रमसँगै भाइरस आफैं कमजोर भएर जाने अनुमान पनि वैज्ञानिकहरुले गरिरहेका छन् । कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्याघट्दो क्रममा रहेको छ । गएको २४ घण्टामा ३ हजार ४ सय ६३ जनाको ज्यान गएको र ७८ हजार ८ सय ४७ जना नयाँ बिरामी थपिएका वल्डओमिटरले जनाएको छ । यस्अघि अस्ति ४ हजार २ सय ४८ जनाको ज्यान जानुका साथै ८८ हजार ९ सय ८८ जना नयाँ बिरामी थपिएका थिए ।
गएको २४ घण्टामा सबैभन्दा धेरै उत्तर अमेरिकामा २३ हजार ५ सय ६ जना नयाँ बिरामी थपिएका छन् भने ११ सय ६ जनाको ज्यान गएको छ । यस्तै यूरोपमा २२ हजार ७ सय ४७ जना नयाँ बिरामी थपिँदा ९ सय ७५ जनाको ज्यान गएको छ । यसैगरी एसियामा १७ हजार ७ सय २१ जना नयाँ बिरामी थपिँदा ३ सय २१ जनाको मृत्यु भएको छ भने दक्षिण अमेरिकामा १२ हजार १ सय ४ जनामा सङ्क्रमण पुष्टि हुँदा ९ सय ९२ जनाको ज्यान गएको छ । अफ्रिकामा पनि २ हजार ७ सय ५५ जनामा कोरोना पुष्टि हुँदा ६९ जनाले ज्यान गुमाएका छन् । यसैबीच भारतको कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या२ हजार नाघेको छ । ६७ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा २ हजार २ सय १२ जनाको ज्यान गएको वल्डओमिटरले जनाएको छ ।
वल्डओमिटरका अनुसार भारतमा गएको २४ घण्टामा मात्रै १ सय ११ जनाको ज्यान गएको छ भने ४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै साढे २० हजारभन्दा धेरै निको भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म २१ सय ९ जनाको मात्र ज्यान गएको पुष्टि गरेको छ ।

सम्बन्धित समाचार