free website hit counter

गाँजा : नजाने बिष, जाने औषधि

beemaadmin
२०७९ चैत्र ३, शुक्रबार

कैलाश पर्वतमा रहने शिवलाई मनपर्ने बस्तु मध्येको एक हो अमूल्य जडिबुटी– गाँजा । तर शिवबुटीका रुपमा यसको दुरुपयोग हुनु र लागू औषधको रुपमा प्रयोग गरिनु गलत हो । यही गाँजालाई नेपाली समाजमा शिवबुटी पनि भन्ने गरेका छन् । जसरी पूजामा शिवलाई बेलपत्र, दुध चढाइन्छ त्यसरीनै भाङगाँजा पनि चढाइने गरेको छ । यो शिवालाई चढाउने मात्र होइन थुप्रै यसका पारखीले खाने पनि गरेका छन् । यसरी भगवान शिवजीलाई चढाउने शिवबुटी अर्थात् गाँजाको महत्व के हो त ? यस्को खोजी आजको समाजले गर्नुपर्ने स्ष्ट छ । नेपाली समाजमा गाँजा सेवले शरीरमा आउँने लुतो हराउने भन्ने भएपनि यो आफैमा बहुगुणी रहेको छ । उचित सेवन गर्न सकेमा र यस्को बैंज्ञानि कारण खोज्न सकेमा गाँजा औषधि अर्थात अमुत समान नै हुने गरेको छ ।
नेपालमा हिप्पी संस्कृति बढिरहँदा सन १९६१ मार्च ९ (विक्रम सम्वत् २०१७ चैत) मा संयुक्त राष्ट्रसंघीय मुख्यालयमा सम्पन्न सम्मेलनले अन्तर्राष्ट्रिय सन्धि ‘द सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१’ पारित गर्यो– जसले गाँजालाई पनि अफिमसरहको कडा खालको लागूऔषध मान्दै प्रतिबन्ध लगायो । सन्धि पक्षधर सदस्य राष्ट्रले गाँजा खेती नियन्त्रणका लागि अग्रसरता लिनुपर्ने अनिवार्य व्यवस्था गर्दै औषधीय र अनुसन्धान प्रयोजनबाहेक गाँजामा प्रतिबन्ध लगाइयो । यस्तो नीतिअनुसार सन्धिको पक्षराष्ट्र नेपालले गाँजामा पूर्ण प्रतिबन्ध लगाउन सहयोग नगरेको भनेर राष्ट्रसंघ असन्तुष्ट थियो नै– हिप्पी बनेर काठमाडौं आएका कतिपय अमेरिकी नागरिक गाँजा सेवन गर्न यतै बस्न थालेपछि अमेरिकाले पनि गाँजामाथि प्रतिबन्ध लगाउन दबाव दियो ।
अन्ततः वि.सं. २०३३ मा लागूऔषध (नियन्त्रण) ऐन जारी गरेर ‘गाँजाको खेती, उत्पादन, किनबेच, निकासी, पैठारी, सञ्चय र सेवन गर्न’ प्रतिबन्ध लगाइएको थियो । नेपालमा गाँजामाथि प्रतिबन्ध लगाउन दबाव दिने अमेरिका, क्यानाडालगायतका पश्चिमा मुलुकले नै अहिले आएर प्रतिबन्ध हटाइसकेपछि नेपालले पनि गाँजा खुला गर्नुपर्ने आवाज उठ्नु अस्वाभाविक भन्न सकिन्न । अमेरिकाका १२ राज्य तथा उरुग्वे, क्यानडा, थाइल्यान्डलगायत राष्ट्रमा गाँजा खेतीले अहिले मान्यता पाएको अवस्था छ ।
विश्वका ५० भन्दा बढी देशले गाँजालाई प्रतिबन्धित लागू पदार्थको सुचीबाट हटाउँदै यसको व्यवसायिक खेती खुल्ला गरिसकेका छन् । पछिल्लो समय गाँजालाई प्रतिबन्धित औषधीको सुचीबाट हटाउनु पर्छ भनेर विश्वव्यापी रुपमा आवाज उठ्न लागेको छ । आधुनिक विज्ञानले पनि गाँजा प्रयोगले फाइदा हुने पुष्टी गरेको छ । गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान पनि भएका छन् । अनुसन्धानहरुले पुष्टी गरे अनुसार ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोग उपचारमा गाँजा सहयोगी हुन्छ । शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजा उपयोगी हुने पनि पुष्टी भएको छ । अझ गाजाँको तेलले मधुरोगलाई नष्ट गर्ने गरेको जानकारहरु बताउँछन् ।
संयुक्त राष्ट्रसंघले गाँजालाई खतरनाक लागू पदार्थको सुचीबाट हटाएको छ । जुन प्रस्तावको पक्षमा नेपालले समेत मतदान गरेको छ । बरु गाँजालाई औषधीजन्य वनस्पतिको सूचीमा राखिएको छ । भियनामा सम्पन्न नियोगको वार्षिक सम्मेलनमा गाँजाजन्य वस्तुलाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्तावमा २७ देशले समर्थन जनाएका थिए भने २५ देशको विपक्षमा मत दिएका थिए । अमेरिका, बेलायत, दक्षिण अफ्रिका, क्यानडा, अस्ट्रेलिया, फ्रान्स, इटाली, जर्मनी, भारत लगायत देशले पनि पक्षमा मतदान गरेका छन् । जापान, इराक, ब्राजिल, चीन, रूस, पाकिस्तान लगायतले भने विपक्षमा मतदान गरेका थिए । युक्रेन मतदानमा अनुपस्थित रहेको थियो ।
राष्ट्रसंघको सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स १९६१ अनुसार गाँजालाई खतरनाक लागुपदार्थको सूचीमा राखिएको थियो । पछिल्लो निर्णयअनुसार अब यसलाई औषधिजन्य गुण भएको र कम खतरनाक लागुपदार्थको सूचीमा वर्गीकरण गरिएको छ । यो निर्णयले गाँजा खुल्ला हुनुपर्ने माग गर्दै आएका देश र संस्थाहरुमा सकारात्मक प्रभाव पारेको छ । उरुग्वेले गाँजा सेवनलाई कानुनी रुपमा खुल्ला गरेको छ । संयुक्त राष्ट्रसंघले गाँजालाई खतरनाक लागू पदार्थको सुचीबाट हटाउने प्रस्तावको पक्षमा नेपालले समेत मतदान गरेपछि अव नेपालमा यस्को अवस्था के भन्ने प्रश्न उठेको छ । हुनत नेपालमा पहिला पनि गाँजा उत्पादन र बिक्री हुने गर्दथ्यो । सन् १९६१ मा लागुऔषध ऐन जारी भएपछि नेपालमा गाँजा उत्पादन तथा आयात निर्यातमा बिक्री वितरणमा कडाई शुरु भएको हो ।
राष्ट्रसंघबाट दबाब आएपछि सरकारले गाँजा उत्पादन र किनबेचविरुद्ध सन् १९७३ जुलाई १६ देखि गैर कानुनी लागू औषधको रुपमा कार्बाही हुन थाल्यो । नेपालमा गाँजा खुलाउनुपर्ने विषयले पहिलो पटक संसदमा २०७५ फागुनमा प्रवेश पाएको थियो । प्रतिनिधिसभा बैठकमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले यसबारे कुरा उठाएका थिए । गाँजा खेती, उत्पादन र बिक्री वितरण गर्न पाउदा नेपालीले ठूलो आर्थिक लाभ लिन सक्ने पक्षमा तर्क हुँदै आएको छ ।

कुनै समय नेपालमा गाँजाको बजार दक्षिण एसियाकै उत्कृष्ट मानिथ्यो । तराईका पर्सा, बारा, सिरहा, महोत्तरी र धनुषामात्र होइन– मध्य र पश्चिम पहाडका जिल्लामा समेत गाँजा प्रशस्त उत्पादन हुन्थ्यो । दोस्रो विश्वयुद्धकै समयदेखि नेपाली गाँजा भारत र अन्य देशमा ‘ब्रान्ड’का रूपमा स्थापित थियो । नेपालको अर्थतन्त्रमा विशेष महत्व राख्ने गाँजा खेतीमा समयक्रमसँगै कानुनतः प्रतिबन्ध लाग्यो । तर, पछिल्लो समय यसलाई पुनः खुला गर्नुपर्ने आवाज उठिरहेको छ । यिनै आवाजका कारण गाँजा बहसले पुनः एकपटक स्थान पाएको छ ।
नेपालमा गाँजामाथिको प्रतिबन्ध हटाइनुपर्ने बहसमा एउटै मात्र कारण अघि सारिएको छैन । एकथरीले गाँजा खुला भएमा युवा पुस्तालाई हेरोइन र अन्य फर्मास्युटिकल ड्रग्सको कुलतबाट जोगाउन सकिने तर्क गरिरहेका छन् । अर्काथरीले चाहिँ गाँजाको औषधीय गुण अघि सार्ने गरेका छन् । केहीले भने अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेको नेपाली चरेस निर्यात गरेर देशले ठूलो आम्दानी गर्ने दाबी पनि गरेका छन् ।
गाँजा खेतीलाई खुला गर्नुपर्ने आवाज नेपालमा आइरहे पनि लामो समयदेखि यसले राजनीतिमा प्रवेश पाएको थिएन । तर, लगभग एक वर्षअघि प्रतिनिधिसभा बैठकमा गाँजा खेतीलाई बैद्यानिक मान्यता दिनु पर्ने माग उठेको छ । अधिल्लो कार्यकालको प्रतिनिधिसभामा ४६ सांसदले गाँजाखेतीलाई वैधता दिनुपर्ने माग राखेका थिए । यतिहुँदा पनि नेपालमा यस्लाई कानूनी मान्यता दिएको छैन् ।
अहिले नेपालमा गाँजा खेती अवैध हो तर तराईमा गाँजाको खेती आजसम्म पनि पूर्ण रूपले निस्तेज हुन सकेको छैन । नेपालमा उत्पादित गाँजा, चरेस र कच्चा अफिम भारत पुग्छ भने भारत गएको कच्चा अफिमबाट ब्राउन सुगर बनाएर नेपाल भित्र्याइन्छ । तराईमा परम्परागत रूपमा हुँदै आएको गाँजा खेती तथा यसको सेवनलाई नियन्त्रण नगरिँदा युवाहरू लागूऔषधको कुलतमा फस्ने गरेको पनि पाइन्छ । सुरूमा गाँजा सेवन गर्ने युवाहरू पछि त्यो नपाउँदा अफिम, ब्राउन सुगर, आदि विभिन्न प्रतिबन्धित औषधितर्फ आकर्षित हुने गरेका पनि पाइन्छन् ।
कानुनी रूपमा खेती गर्न नपाएकोले तराईमा अहिले बाटोघाटो नभएको तथा विकट स्थानका ऐलानी जग्गा, खोलाको बगर, उखु बालीभित्र लुकाएर गाँजाको खेती गरिने गरिएको पाइन्छ । यस्ता स्थानमा या त प्रहरीको नजर पर्दैन, या प्रहरीले देखे पनि बेवास्ता गर्ने प्रवृत्ति हुन्छ । लागूऔषध कारोबारमा संलग्नहरू घर छाडेरै भाग्ने, लुकिछिपी बस्ने गर्दा दण्डहीनता बढ्ने भएकाले कानुनबमोजिम नै लागूऔषध कारोबारीको घरजग्गा नै जफत गर्न थालिएको छ । भने अर्कातिर गाँजा खेतीलाई वैधता दिनुपर्ने माग संसद चलिरहेको छ ।
अमेरिकामा क्यान्सरका बिरामीलाई पीडा कम गराउन गाँजा प्रयोग गर्न दिइन्छ । स्पेन, नेदरल्यान्ड्स, पोर्चुगल, स्लोभेनिया, जमैका, चिली, पेरु, कोलम्बिया, इक्वेडर र लक्जेम्बर्गले पनि व्यक्तिगत रूपमा गाँजाको प्रयोगसम्बन्धी कानुन खुकुलो पारेका छन् । इजरायल, अर्जेन्टिना, पनामा, मेक्सिको, टर्की, जाम्बिया र जिम्बाबेमा औषधीय रूपमा गाँजा खुला छ । बेलायतले पनि गाँजाको औषधीय प्रयोग खुला गर्नेबारे छलफल थालेको छ ।
प्रतिबन्धित लागूऔषधमा सूचीकृत गाँजा औषधिका रूपमा प्रयोग गर्न सकिने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएपछि विभिन्न मुलुकले प्रतिबन्ध हटाउने अभियान थालेका छन् । अमेरिकी राज्यमा करिब ११ वर्ष लगाएर गरिएको अध्ययनले दुखाइ कम गर्ने अन्य औषधि (पेन किलर)का तुलनामा गाँजाको गुणस्तर सबल देखाएको थियो । अध्ययन प्रतिवेदन उद्धृत गर्दै न्युयोर्क टाइम्समा प्रकाशित विवरणअनुसार, दुखाइ कम गर्ने अन्य औषधि अत्यधिक सेवन गर्दा बिरामीको मृत्युको सम्भावना ४० प्रतिशतभन्दा बढी पाइएको, तर गाँजा सेवनले मृत्युदर २५ प्रतिशतमा झरेको उल्लेख छ । अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालयका वैज्ञानिकले गरेको एउटा शोधले शरीरमा क्यान्सरका कोष मार्न तथा लागूऔषध र रक्सीको लत छुटाउन गाँजा प्रभावकारी हुने देखाएको छ ।

नोटः यो लेख जानकारीको लागि मात्र हो । यसलाई कुनै पनि डाक्टर वा चिकित्सा पेशेवरको सल्लाहको रूपमा नलिनुहोला । लेखक : विभिन्न संघसंस्थामा आबद्ध सामाजिक अभियान्त हुन् ।

सम्बन्धित समाचार