काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले नेपालगञ्जमा आफ्नो सातौं शाखा सञ्चालनमा ल्याएको हो । नेपालगञ्ज उप–महानगरपालिकाका उप–प्रमुख कमरुद्धीन राईले उक्त शाखा कार्यालय उद्घाटन गरेका हुन् । उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै उपप्रमुख राईले कम्पनीले आफ्नो उद्देश्य अनुरुप ग्रामीण बस्ती र लक्षित वर्गमा पुगेर बीमा सुविधा प्रदान गर्ने अपेक्षा आफूले गरेको बताए । यसैगरी, कम्पनीका चिफ म्यानेजर कैलाश देवकोटाले बीमाको पहुँचबाट टाढा रहेका र न्यून आय भएका व्यक्ति, विपन्न वर्ग, श्रमिक वर्गलाई बीमाको सुविधा दिएर आर्थिक सुरक्षा प्रदान गर्ने उद्धेष्य रहेको बताए । त्यस्तै, कम्पनीका प्रदेश प्रमुख विमल खड्काले स्थानीय निकायसँग सहकार्य गर्दै न्यून आय भएका सबैलाई बीमाको सुविधा प्रदान गरिने जानकारी दिए । डिजिटल प्रविधिको विकास गरी जनस्तरमा लघु जीवन बीमा सेवा प्रदान गर्नु कम्पनीको उद्देश्य रहेकोसमेत उनले बताए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका १ का वडाध्यक्ष तथा प्रवक्ता प्रमोद रिजाल, वडा नं। २ का वडाध्यक्ष मनोज कुमार श्रेष्ठ, वडा नं। ७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठ, क्रिकेट संघ बाँकेका अध्यक्ष सरोपर प्रसाई, नेपाल ई रिक्सा व्यवस्थापन कम्पनीका अध्यक्ष कुमार सिं ठकुरी, जिल्ला सहकारी संघकी उपाध्यक्ष मिना सिग्देल, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल लगायत सर्वसाधारणको सहभागिता थियो ।