free website hit counter

घट्यो वाणिज्य बैंकहरुको नाफा

beemaadmin
२०८१ बैशाख ८, शनिबार

काठमाडौं । आर्थिक मन्दीको असरले सबैतिर प्रहार गरेको छ । वित्तीय क्षेत्र चलायमान नहुँदा वाणिज्य बैंकहरुको समेत नाफामा ह्रास आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बाणिज्य बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएका वाणिज्य बैंकहरुले, यस आर्थिक वर्षको सोही अवधिसम्ममा ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ मात्र कमाउन सफल भएका छन्।
यस अवधिमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १३ बैंकहरुको नाफा घटेको छ भने ७ बैंकहरु भने नाफा बढाउन सफल भएका छन्। समीक्षा अवधिमा सबैभन्दा बढी नाफा बढाउन सफल बैंक कृषि विकास बैंक रहेको छ। सो बैंकको खुद नाफा समीक्षा अवधिमा ९७।२२ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। त्यसैगरी, समीक्षा अवधिमा नाफा बढाउन सफल बैंकहरुमा लक्ष्मी सनराइज, प्राइम कमर्सियल, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, र एभरेष्ट बैंक रहेका छन्।
नाफा घटेका १७ वाणिज्य बैंकहरुमध्ये नेपाल बैंकको नाफा सर्वाधिक घटेको छ। समीक्षा अवधिमा सो बैंकको नाफा ९२.६८ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १३ करोड ५ लाख मात्र नाफा कमाएको छ। रकमका आधारमा चैतको अन्त्यसम्ममा सबैभन्दा बढी नाफा कमाउने बैंक, नबिल बैंक लिमिटेड रहेको छ। यस बैंकले सो अवधिसम्ममा ४ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ। यद्यपि यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.७६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो। सबैभन्दा कम नाफा कमाउने बैंक भने नेपाल बैंक रहेको छ।

सम्बन्धित समाचार