काठमाडौं । विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकामाथि जित निकाल्दै त्रिकोणात्मक सिरिजमा पहिलो जित दर्ता गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले अन्तिम ओभरको दोस्रो बलमा सबै विकेट गुमाएर १ सय ९० रन बनाएको थियो। नेपाली समर्थकहरुको उल्लेखनिय उपस्थिति भएको खेलमा ब्याटिङमा शुरुमै जम्न नसके पनि बलिङमा भने नेपाली टिमले अमेरिकालाई शुरुबाटै दबावमा राखेको थियो।
नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४ दशमलव १ ओभरमा अल आउट हुँदै १५५ रन मात्रै बनाउन सक्यो। अमेरिकाका लागि इयान हल्यान्डले सर्वाधिक ७५ रन बनाउँदा क्यामरुन स्टेभेन्सनले १९ रन बनाए। त्यस्तै करिम गोरेले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन्।
अमेरिकालाई लक्ष्यसम्म पुग्न नदिन करण केसीले ४ र शुसन भारीले ३ विकेट लिए। त्यस्तै सन्दीप लामिछानेले २ तथा कुशल मल्लले एक विकेट लिए। त्यसअघि ब्याटिङ गरेको नेपालले खासै राम्रो सुरुवात गरेको थिएन। नेपालका लागि विनोद भण्डारी र कुशल मल्लको अर्धशतक महत्वपूर्ण रह्यो।
कुशल एक दिवसीय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा सानो उमेरमा खेलाडी बनेका छन्। उनले रोहित कुमार पौडेलको यसअघिको रेकर्ड तोडेका छन्। यसअघि नेपालका रोहित कुमार पौडेलले संयुक्त अरब इमिरेटससँग भएको एक दिवसीय क्रिकेटमा ५८ बलमा ५५ रन बनाउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा अर्ध शतक बनाउने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए।
नेपालका लागि सुवास खकुरेल र मल्लको ओपनिङ जम्न सकेन। सुवास खकुरेल ३ रन बनाएर आउट भएपछि ज्ञानेन्द्र मल्ल र पारस खड्काले नेपालको पारी सम्हालेका थिए। कप्तान मल्ल पनि खेलको १८ औँ ओभरमा २१ रन बनाउँदै पभिलियन फर्किएपछि गएका दीपेन्द्रसिंह ऐरी रन नजोड्दै आउट भए।
त्यस्तै पारस खड्का १९ रन बनाउँदै आउट हुन पुगे। त्यसपछि आरिफ शेख पनि २ रन बनाएर पभेलियन फर्किँदा नेपालको ब्याटिङ धर्मराएको थियो। त्यसपछि आएका कुशल मल्लले विनोद भण्डारीसँग साझेदारी गर्दै नेपालको पारी उकासे। मल्लले अर्धशतक बनाउँदै पभेलियन फर्किएपछि आएका करण केसी पनि १२ रन बनाउँदै बाहिरिए। ओमनसँगको खेलमा राम्रो ब्याटिङ गरेका सन्दीप लामिछाने पनि आजको खेलमा जम्न सकेनन्। उनी खाता नखोल्दै पभेलियन फर्किए। सन्दीप पछि आएका शुसन भारीले बिनोदलाई क्रिजमा साथ दिए। बिनोदले सर्वाधिक ५९ रन बनाउँदा भारीले ११ रन बनाउँदै पभेलियन फर्किए। अभिनास बोहोरा ५ रनमा अभिजित रहे।
नेपाललाई औषत रनमै रोक्न अमेरिकाका लागि क्यामरुन स्टेभेन्सनले ३ विकेट लिए। त्यस्तै कप्तान शौरभ नेत्रभाल्कर र रस्टी थेरोनले समान २ विकेट लिए। नेपालले आइतवार ओमनसँग प्रतिस्पर्धा गर्दैछ ।