काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणले बीमकहरुका लागि तोकिदिएको चुक्ता पुँजी वृद्धिको समयसीमा बढाइरहँदा पनि अझै धेरै बीमकले चुक्ता पुँजीका लागि सबैभन्दा सजिलो मानिएको मर्जरको नीतिमा गएका छैनन् । प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी अझै ८ कम्पनीले जुटाउन सकेका छैनन् । हालसम्म शिखर, सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर र आइएमई प्रुडेन्सियलले मात्रै चुक्ता पूँजी जुटाउन सफल भएका छन् । शिखर बाहेक तीन वटाले मर्जर मार्फत जुटाएका हुन् । मर्जर गरेर पनि अझै तीन कम्पनीको पूँजी पुग्न सकेको छैन । पूँजी जुटाउन सबैभन्दा धेरै सकस राष्ट्रिय बीमा कम्पनीलाई परेको छ । हाल कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ छ । लेखापरीक्षण गर्न नसक्दा कम्पनीले बोनस वितरण गर्न पाएको छैन । सकेसम्म लेखापरीक्षण सम्पन्न गरेर बोनस शेयर मार्फत नै न्युनतम चुक्ता पूँजी जुटाउने योजनामा राष्ट्रिय बीमा संस्था नरहेको छ । त्यस्तै मर्जर गर्न नसकेका नेपाल इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्स कम्पनीलाई पनि पूँजी जुटाउन सकस परेको छ । साविक अजोडसँग मर्जर भाडिए पछि प्रभु इन्स्योरेन्स रणनीतिक साझेदारी भित्र्याउने योजनामा छ । यदि बीमा प्राधिकरणले हकप्रद खोलिदियो भने प्रभु हकप्रद शेयर मार्फत नै पूँजी जुटाउने भित्रि दाउ कुरेर बसेको छ । हाल प्रभुको चुक्ता पूँजी एक अर्ब ३७ करोड रहेको छ । साढे दुई अर्ब पुर्याउन अझै एक अर्ब १२ करोड आवस्यक पर्छ । नपुग ८१.६७ प्रतिशत पूँजी रणनीतिक साझेदार मार्फत जुटाउने कम्पनीको योजना छ । त्यस्तै आइएमई जनरल र प्रुडेन्सियल सँग मर्जरका लागि लामो छलफल गरेर पनि भाडिए पनि नेपाल इन्स्योरेन्स कम्पनी सम्पत्ती बिक्री गर्दैछ । हाल कम्पनी सँग एक अर्ब ४८ करोड रुपैयाँ छ । नपुग एक अर्ब एक करोड अर्थात ६७ प्रतिशत पूँजी जग्गा बिक्री गरेर बोसन शेयर मार्फत पूँजी जुटाउने योजनामा कम्पनी रहेको छ । नेशनल लाइफको सहायक कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनीलाई ७१.३२ प्रतिशत पूँजी अपुग छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४५ करोड छ । कम्पनीले बोनस शेयर र हकप्रद शेयर निष्काशन गरेर साढे दुई अर्ब जुटाउने योजना बनाएको छ । त्यस्तै नेकोले पनि सकेसम्म बोनस शेयर त्यसले नपुग भएमा थोरै हकप्रद शेयर निष्काशन गर्ने योजना बनाएको छ । हाल कम्पनीको पूँजी २ अर्ब एक करोड छ । कम्पनीलाई साढे दुई अर्ब पूँजी २३.२३ प्रतिशत पूँजी आवस्यक छ । साविक युनाइटेड र अजोड मर्जर भएर बनेको युनाइटेड अजोडलाई पनि साढे दुई अर्ब पुर्याउन ५९ करोड ५४ लाख आवस्यक छ । यो पूँजी कम्पनीले हकप्रद र बोनस दुबै मार्फत जुटाउनेछ ।