free website hit counter

चार बीमकले प्रिमियममा आईपीओ जारी गर्दै

beemaadmin
२०८० बैशाख १२, मंगलवार

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले पूँजी बढाउन दिएको समय सीमा सकिएर पुनः समय थप गरेसँगै बीमा कम्पनीहरु मर्जरमा जाने र आइपीओ जारी गर्ने क्रमबढ्दै छ । चार जीवन बीमा कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने तयारी गरेका छन् । सिटिजन लाइफ, रिलायवल नेपाल, सन नेपाल र आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । बीमा प्राधिकरणको निर्देशन अनुसार असारसम्ममा जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । चार वटै कम्पनीले संस्थापकलाई पूँजी थप्न लगाएर कायम हुन आएको जारी पूँजी ४० प्रतिशत बराबरको शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेका हुन्।

आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै फागुन २८ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १७६ रुपैयाँ प्रिमियम मूल्य सहित प्रति कित्ता २७६ रुपैयाँमा आईपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रति कित्ता २७६ रुपैयाँका दरले ३ अर्ब ३१ करोड १२ लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ ।

सिटिजन लाइफ इन्स्योरेन्स
सिटिजन लाइफ इन्स्योरेन्सले पनि आईपीओ निष्काशन गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपिओ जारी गर्न चैत ३ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १९० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २९० रुपैयाँका दरले आईपीओ निष्काशन गर्न अनुमाति मागेको छ । कम्पनीले प्रति कित्ता २९० रुपैयाँका दरले ३ अर्ब २६ करोड २५ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ पुग्नेछ । बीमा प्राधिकरणको निर्देशन अनुसार ५ अर्ब पूँजी पुर्याउन कम्पनीले १ अर्ब २५ करोड रुपैयाँ थप्नु पर्ने देखिन्छ ।

रिलायवल नेपाल लाइफ
रिलायवल नेपाल लाइफले पनि प्रिमियममा आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन २ गते आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १२० रुपैयाँ प्रिमियम सहित प्रति कित्ता २२० रुपैयाँका दरले आईपीओ निष्काशन गर्न अनुमाति मागेको छ । कम्पनीले प्रति कित्ता २२० रुपैयाँका दरले २ अर्ब ५४ करोड ४० लाख रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब पुग्नेछ ।

सन नेपाल लाइफ

सन नेपाल लाइफ इन्स्योरेन्सले पनि प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै फागुन १७ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १५० रुपैयाँ ५५ पैसा थप गरी प्रतिकित्ता २५० रुपैयाँ ५५ पैसामा शेयर निष्काशन गर्न अनुमति माग गरेको छ । कम्पनीले २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ बारबरको ९६ लाख कित्ता शेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणको लागि ९६ लाख कित्ता शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार