काठमाडौं । छिमेकीहरुलाई सीमानामा किचलो गर्ने भारतले सानातिना छिमेकीलाई दुःख दिन छाडेको छैन । ठूलो छिमेकी चिनसँग सीमा विवादमा फस्दा सयौं सेना गुमाउन पुगेको भारतले सानालाई भने हेप्न छाडेको छैन ।
चीनसँग लद्दाख सीमा क्षेत्रमा तनाव बढेपछि भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा केही दिनयता सुरक्षा फौजको तैनाथी बढाएको छ । त्रिदेशीय सीमानजिकको यो नेपाली भूमिमा उसले वर्षौंदेखि सुरक्षा फौज तैनाथ गरेको छ । चीनसँग उसको पछिल्लो तनावपछि सुरक्षा फौजको संख्यामा उल्लेख्य वृद्धि गरेको हो । लद्दाखमा तनाव बढेसँगै भारतले ३/४ दिनयता कालापानी र लिपुलेक क्षेत्रमा अर्द्धसैनिक बल एसएसबी, भारत–तिब्बत बोर्डर पुलिससँगै सेनासमेत परिचालन गरेको हो । उत्तराखण्ड राज्यको पिथौरागढ–धार्चुला हुँदै सुरक्षा फौजका गाडीहरू ‘अग्रिम मोर्चा’ तर्फ गइरहेका छन् । यसका साथै भारतीय वायु सेनाका हेलिकप्टर र विमानले हवाई गस्ती तीव्र बनाएको स्थानीय बताउँछन् ।
केही दिनयता नियमित रूपमा दार्चुलाको व्यास क्षेत्रमा भारतीय वायु सेनाको जेट लडाकु विमानले दैनिक चार–पाँच पटक उडान भर्ने गरेका छन् । बिहीबार भने दार्चुला सदरमुकाम खलंगा आसपासबाटै भारतीय विमानले गस्ती गरेको थियो । सीमामा तैनाथ नेपाली सुरक्षा निकायले पनि लद्दाखमा तनाव बढेपछि भारतले दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा सैनिक गतिविधि बढाएको बुझिएको जनाएको छ । सशस्त्र प्रहरीका एसपी नरेन्द्र बमका अनुसार एक सातादेखि भारतले आफ्नो क्षेत्रमा सुरक्षाकर्मीको परिचालन बढाएको छ । पछिल्लो समय सशस्त्र प्रहरीको छाङरु पोस्टका सुरक्षाकर्मीले भदौ ८ देखि ११ सम्म टिंकर क्षेत्र र शनिबार कौवा क्षेत्रमा गस्ती गरेको थियो ।