free website hit counter

चुनावी गठबन्धन कति ब्यबहारिक?

beemaadmin
२०७८ चैत्र २, बुधबार

हाल नेपालमा गठबन्धनको सरकार छ। यो गठबन्धनको श्रेय केपी ओलीलाई जान्छ। करीब दुई तिहाईको सरकारमा जमेका ओलीलाई आफ्ना सहकर्मीले उनको अभिष्ट पूरा नगरिदिएको झोकमा प्रतिनिधि सभा पटक पटक भंग गरिदिए। यसरी उनमा उन्माद चढ्नुका पछाडि प्रचण्ड र माकुनेलाई तृण बराबर नगन्ने प्रवृत्ति र आफ्नो रबर स्ट्याम्पको रूपमा प्रयोग हुने राष्ट्रपतिको बानी देखेर नै हो।

नेपाल कानूनी राज भएको मुलुक हो भन्ने कुरा ओलीले हेक्का राखेनन्। यिनको यो असंवैधानिक कदम विरूद्ध एमाले वाहेकका दलहरू एक भएर न्याय खोज्न हिडे र सडक संघर्ष पनि जारी राखे। परिणामतः नेपालको संविधानको धारा ७६(५) बमोजिम स्वतन्त्र सांसदको हैसियतले देउवाको नेतृत्वमा गठबन्धनको सरकार बन्यो। बिभिन्न ५ वटा दलहरूले संसदमा बहुमत पुर्याएर बनेको सरकारले केही पर सम्म गएर ओलीलाई नेपालको मूल राजनीतिबाट पाखा लगाउने तयारी गरेका छन्।

ती तयारीहरू मध्ये यी ५ दलले चुनावमा समेत एकले अर्कोलाई सहयोग गरेर एमालेलाई हराउने रण नीति अख्तियार गर्दैछन्। यो गठबन्धनले यही रणनीतिलाई राष्ट्रियसभाको रिक्त एक तिहाई सदस्यको निर्वाचनमा प्रयोग गरेर हेरे र सफल पनि भए। यसबाट यिनीहरूलाई थप हौसला मिलेको छ गठबन्धनलाई निरन्तरता दिन। देउबाले यही गठबन्धनको रणनीति प्रयोग गरेर प्रतिनिधिसभामा एम सी सी को नामबाट आएको अमेरिकी सहयोग परियोजनालाई पनि पारित गर्न सफल भए।

यो गठबन्धनमा नेकपा एकीकृत समाजवादी नयां भए पनि माओवादी केन्द्र संगको संगत नेपाली कांग्रेसले पहिला पनि गरेको थियो तर त्यसपटक नेपाली कांग्रेसलाई माओवादी केन्द्र बाट ठूलो धोका भयो। यी दुईको संयुक्त सरकार भएर गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले लगाएको गुण बिर्सेर रातारात गठबन्धन तोडेर एमाले संग जोडिन पुगेका प्रचण्डको धोकाधडीलाई कांग्रेसी कार्यकर्ताले बिर्सन सकेका छैनन्।

त्यसैले कहिलेकांही कांग्रेसी वृत्तबाट हात्तीको कानमा चमेराको गुड भन्ने उक्ति निस्कन्छ ता पनि पहिलो पुस्ताका नेताहरू भने यो गठबन्धनको रणनीतिलाई संघीय निर्वाचन संम लग्न खोज्दै छन् र पार्टीपंक्तिलाई मनाउन खोज्दैछन्। विभिन्न कारणले सांगठनिक कमजोरीमा रहेका गठबन्धनका पात्रहरू मध्ये खासगरी माओवादी र एकीकृत समाजवादीले एम सी सी उपर देखाएको दोहोरो चरीत्रले निर्वाचनमा यिनीहरू झनै कमजोर हुने अवस्था देखिएकोले पनि यिनीहरू गठबन्धनलाई लामै समय सम्म लैजान चाहन्छन्। खासगरी निर्वाचनमा वामपन्थीको भोट बैंक एउटै भएकोले त्यही मत तीन ठाऊमा बिभाजन हुने देखिन्छ र त्यसमा कांग्रेसको साथ जहां हुन्छ त्यसकै उम्मेद्वारले जित्ने हुदा यिनीहरूलाई कांग्रेस संग तालमेल गर्नु परेको हो।

त्यसै गरी यी दुई थरी कम्युनिष्टको मत संयुक्त रूपमा नेकालाई आउने अवस्था हुदा कांग्रेस थप बलियो हुन सक्छ भन्ने मान्यतामा नेपाली कांग्रेसले पनि यी वामपन्थी संग सहकार्य गर्न खोजेको हो। यसरी सबै तिरबाट मिलेमा एमालेलाई हराउन सकिन्छ भन्ने मान्यता सत्ताधारी दलहरूले राखेका कारण यो चुनावी तालमेल कामयाव भएको मान्न सकिन्छ। यी सबै मध्येमा हाल सम्म नेपाली कांग्रेस ईमान्दार देखिएको छ यो गठबन्धनमा तर कम्युनिष्टहरूमा बेईमानी भै रहने कुरा विगत देखि पुष्ट्याई हुदै आएको छ। कुनबेला के सनक चढ्छ र सबै बाम एकै ठाम भनेर यी सबै एमाले संग मिलेर नेपाली कांग्रेसलाई एक्लै पारे भने केही नौलो नमाने हुने कुरा यिनीहरूको विगतले देखाई सकेको छ। त्यसैले यस तर्फ नेपाली कांग्रेसले सजगता देखाएर अगाडि बढ्नु मुद्धीमत्ता हुने कुरा बिर्सन सक्दैन।

सम्बन्धित समाचार