सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोवार चैत्र ९ बाटबाट सुरु हुँदैछ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको कार्यकारी अधिकृत सिइओको जिम्मेवारी शिवनाथ पाण्डेले सम्हाल्ने भएका छन् भने मर्जरपछि सानिमाका सिइओ अगम मुखियाले अवकाश लिने घोषणा गरिसकेका छन् भने रिलाइन्स लाइफका हालका सिइओ राकेश पोखेल संयुक्त कम्पनीको डिसिओमा बस्न सहमति जनाएका छन् । कम्पनीको प्रधान कार्यालय हाल रिलायन्स लाइफको प्रधान कार्यालय रहेको नयाँबानेश्वर रहने छ । दुई कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । एकीकृत कारोबार गर्न यी दुई कम्पनीले गत फागुन १८ गते नै नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाइसकेका छन् । दुई कम्पनी बराबर हैसियतमा मर्जरमा गएका हुन् । मर्जरमा जानको लागि यी दुई कम्पनीले गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । उक्त प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका थिए । दुई कम्पनी एक आपसमा मर्ज हुने प्रस्तावलाई फागुन १२ गते सम्पन्न दुबै कम्पनीको साधारण सभाले पारित पनि गरिसकेको छ । सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी हाल २ अर्ब रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ छ । मर्जरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ मात्रै पुग्नेछ, नेपाल बीमा प्राधिकरणले न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ ।