काठमाडौं । नेपाली बीमा बजारको ठूलो कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले सबै जीवन बीमा कम्पनीलाई उछिनेर दोस्रो त्रैमाससम्म पनि पहिलो कम्पनी बन्न सफल भएको छ । यसैगरी निर्जीवन बीमा कम्पनीतर्फ शिखर इन्स्योरेन्स सबैलाई उछिनेको छ ।
चालु आर्थिक वर्ष २०७६–७७ को दोस्रो त्रैमाससम्ममा बीमा कम्पनीहरुबाट ६० अर्ब ७१ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । जीवन बीमा ब्यवसायतर्फ जम्मा ४६ अर्ब ८८ करोड र निर्जीवन बीमा तर्फ १३ अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको बीमा समितिले जनाएको छ ।
जीवन बीमा व्यवसायतर्फ नेपाल लाइफ एक्लैले १३ अर्ब ९६ करोड भन्दा बढी बीमा शुल्क आर्जन गरेको छ भने निर्जीवन तर्फ शिखर इन्स्योरेन्सले १ अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यसैगरी एलआईसी नेपालले ७ अर्ब ६९ करोढ रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा राष्ट्रिय बीमा संस्थानले ५ अर्ब ८३ करोड रुपैयाँ, नेशनल लाइफले ३ अर्ब ९५ करोड, मेटा लाइफले १ अर्ब ७७ करोड बीमा शुल्क आर्जन गरेका छन् । यसैगरी युनियन लाइफले २ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ अर्ब ८३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार सबै भन्दा धेरै शिखर इन्स्योरेन्सले १ अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै सगरमाथाले १ अर्ब २४ करोड, नेकोले १ अर्ब १६ करोड, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।