काठमाडौं । चैत १५ गते भड्किएको हिंसाको शिकार भएको जडीबुटी उत्पादन तथा प्रशोधन कारखानामा २८ करोड क्षति भएको छ । सडक आन्दोलनबाटै व्यवस्था उल्टाउने लक्ष्यसहित गरिएको आन्दोलनबाट ठुलो धनजनको क्षति भयो । प्रहरीले जडीबुटी कारखानामा आगजनी र आक्रमण गर्नेलाई पक्राउ गरिसक्यो । तर, आक्रमण र आगजनीबाट २८ करोड रुपैयाँको क्षति भएको छ । यस्तै, कम्पनीको उत्पादन, प्रशोधन लगायतका सबैजसो काम ठप्प छन् । जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रको महाप्रबन्धक संगीता यादवले आन्दोलनबाट ठुलो क्षति भएको र यसको लागि बीमा दाबीको प्रक्रिया अघि बढेको बताइन् । कारखानाले राष्ट्रिय बीमा कम्पनीमा १२ करोड रुपैयाँको स्टक बीमा गरेको थियो । जसमा आगजनी समय केन्द्रको भण्डारमा करिब २१ करोड रुपैयाँ बराबरको उत्पादन थियो । अग्नि बीमा दाबी प्रक्रिया अघि बढाइसकेको र क्षति निरीक्षणको लागि पत्र पठाइसकेकाले सर्भेयरको रिपोर्टपछि वास्तविक दाबी रकम खुल्ने यादवले बताइन् । विसं २०३८ मा स्थापित सरकारको स्वामित्व भएको यो कम्पनीले विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरूको सङ्कलन र प्रशोधन गर्दै आएको छ । कम्पनीले सन्चो, भिक्स, हिमालय मसाज तेल, सन्चो जटा केश तेललगायत उत्पादन गर्दै आएको छ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको उत्पादन नेपालमा मात्र नभएर विदेशमा पनि निर्यात हुने गरेको छ । कम्पनीले चार वर्षदेखि विदेशमा पनि आफ्ना उत्पादन निर्यात गर्दै आएको छ । युरोपेली मुलुक स्विडेन र त्यसबाहेक नेपाली रहेका सबैजसो देशमा कम्पनीले आफ्ना उत्पादन बेच्दै आएको थियो । उक्त आन्दोलनले राष्ट्रिय अर्थतन्त्रमा गम्भीर प्रहार गरेको छ । व्यवसायमा असर पर्दा उत्पादन र निर्यातमा पनि उक्तिकै असर पर्न जान्छ ।