free website hit counter

जानकी फाइनान्सलाई निक्षेप संकलन तथा कर्जा प्रवाहमा रोक

beemaadmin
२०८२ बैशाख ११, बिहीबार

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले जानकी फाइनान्स लिमिटेडलाई शीघ्र सुधारात्मक कारबाही गरेको छ । राष्ट्र बैंकको वित्तीय सुपरिवेक्षण विभागले कम्पनीलाई मापदण्ड बमोजिम न्यूनतम पूँजीकोष अनुपात कायम गर्न नसकेको भन्दै यस्तो कारवाही गरेको हो । २०८१ मंसिर मसान्तमा कम्पनीको न्यूनतम पुँजी कोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड ग बमोजिमका शिघ्र सुधारात्मक सम्बन्धी कारबाहीहरु गरिएको राष्ट्र बैंकले जनाएको छ । कम्पनीको प्राथमिक पुँजीकोष ऋणात्मक अवस्थामा रहेको छ । कम्पनीको पूँजीकोष राष्ट्र बैंकले तोकेको न्यूनतम सीमा भन्दा ५० देखि ७५ प्रतिशतले कम छ । यही कारण राष्ट्र बैंकले कम्पनीलाई थप निक्षेप संकलन तथा कर्जा प्रवाहमा प्रतिबन्ध लगाएको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको निक्षेप संकलन तथा कर्जा प्रवाहमा कमी आएको छ । कम्पनीले तेस्रो त्रैमाससम्ममा ३ अर्ब ५८ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले ३ अर्ब ८४ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको थियो । यस्तै कम्पनीको कर्जा प्रवाह पनि ३ अर्ब १६ करोडबाट घटेर २ अर्ब ७६ करोड रुपैयाँमा सीमित बनेको छ । कम्पनी तेस्रो त्रैमाससम्म १२ करोड ८३ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीको खराब कर्जा अनुपात पनि २८.९१ प्रतिशतबाट बढेर ४४.४१ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले कम्पनीलाई आगामी ६ महिनाभित्र तोकिएको न्यूनतम पूँजीकोष अनुपात कायम गर्न निर्देशन दिएको छ। यदि निर्धारित समयभित्र कम्पनीले पूँजीकोष अनुपातमा सुधार गर्न नसके राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अनुसार थप कारबाही प्रक्रिया अघि बढाइने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार