free website hit counter

जारी भयो बीमा दाबीसम्बन्धी मार्गदर्शन

beemaadmin
२०७६ फाल्गुन २२, बिहीबार

काठमाडौँ । बीमा व्यवसायलाई मर्यादित र व्यस्थित बनाउन नियमनकारी निकाय बीमा समितिले समय सापेक्ष नयाँ नयाँ नीति नियम अवलम्बन गर्दै आएको छ । अहिले बीमा व्यवसाय विस्तारको क्रममा रहेको बेला त्यसभित्र देखिएका समस्या समाधान गर्ने उद्देश्य स्वरुप बीमा समितिले बुधबार बीमा भुक्तानीका सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । यो व्यवस्थासँगै बीमाको दाबी भुक्तानी पहिलेभन्दा छिटो र सहज हुने विश्वास गरिएको छ । यसअघि बीमा व्यवसायमाथि दाबी भुक्तानीमा अनेक झन्झट सिर्जना गर्ने गरेको समेत बेला बेला आरोप लागिरहेको बेला बीमा समितिले यस्ता सबै समस्याको एकमुष्ट समाधान दिने हिसावले नयाँ व्यवस्था लागू गरेको हो । बीमा समितिले बीमाको दाबी भुक्तानी सम्बन्धी मार्गदर्शन जारी गरेको छ ।

सो मार्गदर्शनमा बीमितले बीमाको मागदाबी गर्दा पेश गर्नुपर्ने कागजात, त्यस्तो दाबीउपर छानबिन गरी बीमा कम्पनीले निर्णय दिनुपर्ने समय, दाबी भुक्तानीको माध्यम र प्रक्रिया तथा दाबी भुक्तानीउपर चित्त नबुझेमा गर्नसक्ने उजुरीका सम्बन्धमा रहेका व्यवस्थाहरु थप परिमार्जित गरिएको छ । बीमा कम्पनीहरुले अब दायित्व निर्धारण भएको १५ दिनभित्र सम्बन्धित बीमितलाई बीमा रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । यो नियम जीवनबीमा तथा निर्जीवन बीमा दुवैका हकमा लागु हुनेछ ।

जीवन बीमाको हकमा बीमालेख परिपक्व भएको अवस्था भए बीमा कम्पनीले सम्बन्धित बीमितलाई १५ दिनभित्र आफैले बोलाएर भुक्तानी दिएर पठाउने पर्नेछ । तर जीवन बीमाको अवधि नसकिँदै बीमितको मृत्यु भएको अवस्थामा भने सम्बन्धित बीमितको हकवालाले आवश्यक कागजात सहित मागदाबी गरेको १५ दिनभित्रै बीमा कम्पनीले भुक्तानीको डिस्चार्ज भौचर तयार गर्नुपर्ने र त्यस्तो भौचरमा निवेदकले हस्ताक्षर गरेको १५ दिनभित्र रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । हकवालाले माग दाबी गर्दा सम्बन्धित बीमितको मृत्यु प्रमाणपत्र र नाता प्रमाणित गर्ने कागजात पेश गर्नुपर्छ । यदि उक्त व्यक्तिको मृत्यु दुर्घटनाबाट भएको रहेछ भने चाहिँ शव परीक्षणको प्रतिवेदन वा प्रहरी प्रतिवेदनसमेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यदि निवेदकले माग दाबी गरेको जति भुक्तानी दिन नसक्ने अवस्था भएमा बीमा कम्पनीले त्यसको कारणसहित १५ दिनभित्र जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तो जानकारी मौखिक रुपमा, टेलिफोनबाट वा इमेलबाट समेत दिन सकिन्छ । निवेदकले त्यस्तो जानकारी पाएको ३५ दिनभित्र सोविरुद्ध बीमा समितिमा उजुरी गर्नसक्ने व्यवस्था गरिएको छ । निर्जीवन बीमाको हकमा पनि १५ दिनभित्र भुक्तानीसम्बन्धी निर्णय गर्नुपर्ने र त्यसको २१ दिनभित्र भुक्तानी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । बीमितले मागदाबी गर्नेबित्तिकै बीमा कम्पनीले सो मागदाबीउपर छानबिन गर्न सर्भेयर नियुक्त गरी खटाउनुपर्ने र सर्भेयरले १५ दिनभित्र प्रतिवेदन दिनुपर्ने भनिएको छ ।

कुनै बीमितले मागदाबीका लागि कागजात पेश गर्दा बीमा कम्पनीले पटकपटक कागजात माग्न नपाउने व्यवस्था समेत मार्गदशनमा गरिएको छ । बीमा कम्पनीले बीमितसँग कागजात लिँदा सबै कागजात पूरा भएको छ कि छैन भनेर हेरेर मात्रै लिनुपर्नेछ । तर एकपटक कागजात लिइसकेपछि बीमितलाई पटक–पटक थप कागजात ल्याउन भन्न पाइने छैन । नयाँ मार्गदर्शनले सर्भेयरलाई कडाई गरेको छ ।

सर्भेयरहरुले अब सम्बन्धित घटनाको सर्भेको जिम्मा लिएको १५ दिनभित्र सो दाबीउपर भुक्तानी गर्नुपर्ने हो कि होइन र गर्नुपर्ने भए कति भुक्तानी गर्ने भन्ने कारणसहितको प्रतिवेदन बीमकलाई बुझाईसक्नु पर्ने भएको छ । ५ ओटा भन्दा बढी सर्भेको प्रतिवेदन बुझाउन बाँकी भए सो सर्भेयरलाई अर्को सर्भेको जिम्मा दिन समेत बीमा कम्पनीलाई रोक लगाइएको छ । त्यस्तै बीमा कम्पनीहरुले प्रत्येक महिना सकिएको १५ दिनभित्र सो महिनाभित्र परेका मागदाबी र भएका भुक्तानी तथा भुक्तानी हुन नसकेका वा बाँकी रहेका सम्पूर्ण विवरण बीमा समितिलाई उपलब्ध गराउनुपर्ने व्यवस्था समेत गरिएको छ ।

हेर्नुहाेस् पूर्ण पाठ

 

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार