काठमाडौं । आर्थिक हिसावले मुलुक अप्ठ्यारो अवस्थामा रहेका बेला पनि जीवन बीमा कम्पनीहरुको व्यवसाय भने आशालाग्दो नै देखिन्छ । चालु आर्थिक वर्षको पाँच महिनाको अवस्था हेर्दा बीमा कम्पनीहरुलेले नयाँ व्यवसाय उल्लेख्य बढाएका छन् । सर्वाधिक राष्ट्रिय जीवन बीमा कम्पनीले ४६.८० प्रतिशतले नयाँ व्यवसाय बढाएको छ । गत आवको मंसिर महिनासम्म २८ करोड २४ लाख रुपैयाँ मात्रै प्रथम बीमाशुल्क संकलन गरेको यस कम्पनीले चालु आवको यस अवधिसम्म ४१ करोड ४६ लाख रुपैयाँ नयाँ व्यवसायमार्फत प्रिमियम संकलन गरेको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफको नयाँ व्यवसाय २८.४० प्रतिशत बृद्धि भएको छ । गत आवको ५ महिनासम्म ३३ करोड ५३ लाख रुपैयाँ नयाँ व्यवसायमार्फत प्रिमियम संकलन भएकोमा यस अवधिसम्म ४३ करोड ५ लाख रुपैयाँ प्रिमियम संकलन भएको छ । यसका साथै एलआइसी नेपालको २७.१९ प्रतिशत, नेपाल लाइफको २४।४ प्रतिशत, सूर्यज्योति लाइफको १७.७८ प्रतिशत, नेशनल लाइफको १६.५६ प्रतिशत, हिमालयन लाइफको १५.९० प्रतिशत, सिटिजन लाइफको ११.८१ प्रतिशत, मेट लाइफको ५.०७ प्रतिशत, सानिमा रिलायन्स लाइफको ४.६३ प्रतिशत, एशियन लाइफको ३.३५ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.७० प्रतिशतले नयाँ व्यवसाय बढेको छ । यता आइएमई लाइफको भने १६.०५ प्रतिशतले नयाँ व्यवसाय घटेको छ । साथै सन नेपाल लाइफको पनि ३३.४६ प्रतिशतले नयाँ व्यवसाय घटेको छ ।