free website hit counter

जीवन बीमामा पोलिसी सरेन्डर दर बढ्दै

beemaadmin
२०८० भाद्र १९, मंगलवार

काठमाण्डौ । जीवन बीमा व्यवसायको सबैभन्दा ठूलो समस्या भनेकै बीमा पोलिसी सरेन्डर बनेको छ । अभिकर्ताहरुले बीमकलाई सही सूचना र जानकारी नदिँदा तथा क्षणिक लाभका लागि काम गर्दा यस्तो अवस्था आएको हो । जीवन बीमा कम्पनीहरुमा एक महिनामै ९ हजार ७८९ वटा पोलिसी सरेण्डर भएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार साउन महिनामै झण्डै एकहजारले पोलिसी त्याग गरेका हुन् । जीवन बीमा कम्पनीका बीमितले साउन महिनामा मात्रै १ अर्ब २८ करोड रुपैयाँ बढीको बीमा पोलिसी सरेन्डर गरेका हुन् । बीमितले निश्चित अवधिमा तोकेर बीमा गर्ने गर्छन् । तर, त्यो अवधि नसकिँदै ग्राहकले पोलिसी बन्द गरेर आफ्नो रकम लिन्छन् भने, त्यसलाई सरेन्डर भनिन्छ । पोलिसी सरेन्डर गर्दा बीमितले तिरेको बीमाशुल्क र पोलिसी सरेन्डर गर्ने मितिसम्मको बोनस रकम एकमुष्ट बीमितलाई भुक्तानी गरिन्छ । बीमितले बीमा गरेको न्यूनतम ३ वर्षपछि मात्रै पोलिसी बन्द गर्न पाइने व्यवस्था रहेको छ ।
बीमा प्राधिकरणले भने बीमा क्षेत्रमा पोलिसी हस्तान्तरण हुनु सामान्य कुरा भएको बताएको छ । नयाँ व्यवसायसँगै बीमा पोलिसी समर्पण हुनुलाई पनि बीमा क्षेत्रको चक्र मान्नुपर्ने प्राधिकरणको तर्क छ । तर जीवन बीमा क्षेत्रमा अत्यधिक पोलिसी सरेण्डर बढ्नुले भने सिँगो बीमा क्षेत्रलाई नै नकारात्मक असर पार्ने प्राधिकरणले जनाएको छ । विशेषगरी पछिल्लो समय देखिएको आर्थिक सङ्कटका कारण अवधि परिपक्वता नसकिँदै सरेन्डर गरिने जीवन बीमालेख लाइफ इन्स्योरेन्स पोलिसीको सङ्ख्या र सरेन्डर रकम बढ्दै गएको छ ।
गत आर्थिक वर्ष २०७९–८० मा पनि १ लाख ४ हजार ४०६ वटा पोलिसी सरेन्डर भएको छ । बीमा अभिकर्ताहरूले कमिसनको लोभमा बीमा गराउँदा पनि बीमितहरुले बीमालेख त्याग्नेको सङ्ख्या बढेको विज्ञहरू बताउँछन् । साउन महिनामा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सरेन्डर धेरै देखिएको छ । एक महिनामै कम्पनीका ३ हजार ३२४ बीमितले पोलिसी सरेन्डर गरेका हुन् । साउनमा कम्पनीको सरेन्डर रकम ४७ करोड २३ लाख रुपैयाँ रहेको छ । दोस्रो धेरै लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालको रहेको छ । कम्पनीका २ हजार २४ बीमितले ३१ करोड २५ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् । यस्तै, हिमालयन लाइफका ९८८ बीमितले १२ करोड २२ लाख, राष्ट्रिय बीमा संस्थानका ८६२ बीमितले १० करोड ३२ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् ।
प्राधिकरणको तथ्याङ्क अनुसार सबैभन्दा कम सन नेपाल लाइफको देखिएको छ ।साउनमा कम्पनीका १३ बीमितले ११ लाख रुपैयाँ बराबरको पोलिसी बन्द गराएका छन् । साउनमा सूर्यज्योति लाइफका ४०८ बीमितले ७ करोड ४६ लाख रुपैयाँ, एशियन लाइफका ७४४ बीमितले ५ करोड ८४ लाख, नेशनल लाइफका २९१ बीमितले ४ करोड ५५ लाख, मेट लाइफका ४६८ बीमितले ४ करोड ३९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् ।
यता, सानिमा रिलायन्सका १८० बीमितले १ करोड ५१ लाख, सिटिजन लाइफका १७६ बीमितले १ करोड १४ लाख, आइएमई लाइफका १३३ बीमितले ९९ लाख, रिलायवल नेपालका १६२ बीमितले ९० लाख र प्रभु महालक्ष्मी लाइफका २५ बीमितले ३५ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका छन् ।

सम्बन्धित समाचार