काठमाण्डौ । मुलुक आर्थिक रुपमा चलयामान हुन सकेको छैन । लगानीको वातावरण नबन्दा बैंक तथा वित्तीय क्षेत्रमा पुँजी थुप्रिने समस्या बढ्दो छ । यस्तो अवस्थामा पनि चालु आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले साढे ५ अर्ब रुपैयाँ नाफा कमाएका छन् । सूचीकृत १२ जीवन बीमकले गत आवको अन्त्यसम्म ५ अर्ब ५० करोड ८३ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा अघिल्लो आवको तुलनामा ४.९५ प्रतिशत कम हो । अघिल्लो आवको अन्त्यसम्म जीवन बीमा कम्पनीहरुले ५ अर्ब ७९ करोड ५० लाख रुपैयाँ नाफा कमाएका थिए । त आवमा ५ वटा जीवन बीमकको नाफा अघिल्लो आवको तुलनामा घटेको छ भने ७ बीमकको नाफामा सुधार देखिएको छ । सबैभन्दा धेरै नाफा कमाउने नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ६० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १७.३७ प्रतिशत कम हो । त्यस्तै, आइएमई लाइफले ५८ करोड ३३ लाख, रिलायबल नेपाल लाइफले ५७ क रोड १ लाख, हिमालयन लाइफले ५४ करोड ६९ लाख, सन नेपाल लाइफले ५४ करोड २४ लाख, सिटिजन लाइफले ४२ करोड ५० लाख, नेशनल लाइफले ४१ करोड २८ लाख, एशियन लाइफले ४० करोड ९३ लाख, सानिमा रिलायन्स लाइफले ३७ करोड ७४ लाख, प्रभु महालक्ष्मी लाइफले ३७ करोड ७ लाख, सूर्यज्योति लाइफले ३५ करोड २ लाख र एलआइसी नेपालले ३१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका छन् । सबैभन्दा बढी नाफा बढाउने कम्पनीमा रिलायबल नेपाल लाइफ रहेको छ । यो कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ४७.२५ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा मुनाफा घट्ने कम्पनीमा भने नेशनल लाइफ रहेको छ । कम्पनीको मुनाफा अघिल्लो आवको तुलनामा ५६.२२ प्रतिशतले घटेको छ ।