free website hit counter

जीवन बीमा कम्पनीहरूको पोलिसी लोन ९४ अर्ब ७८ करोड

beemaadmin
२०८३ भाद्र १५, सोमबार

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले आफ्ना बीमितलाई कुल ९४ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ बराबरको बीमालेख धितो कर्जा (पोलिसी लोन) प्रवाह गरेका छन्।

यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ०.७७ प्रतिशतले कम हो। अघिल्लो वर्ष असार मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ९५ अर्ब ५२ करोड १ लाख रुपैयाँ बराबरको पोलिसी लोन प्रवाह गरेका थिए।

पोलिसी लोन भनेको बीमालेखको सरेण्डर भ्यालुलाई आधार बनाएर बीमितले सम्बन्धित बीमा कम्पनीबाट प्राप्त गर्ने कर्जा हो। यसमा कम्पनीले तोकेको ब्याजदर लागू हुन्छ र कर्जा भुक्तानीसम्बन्धी व्यवस्था बीमालेखको शर्तअनुसार तय गरिएको हुन्छ।

बीमालेख कर्जा प्रवाहमा नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो अग्रता कायम राखेको छ। कम्पनीले असार मसान्तसम्म ३४ अर्ब ३२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यद्यपि, यो रकम अघिल्लो वर्षको तुलनामा ०.६३ प्रतिशतले घटेको हो। समग्र पोलिसी लोन बजारमा नेपाल लाइफको हिस्सा ३६ प्रतिशतभन्दा बढी रहेको देखिन्छ।

एलआईसी नेपाल २० अर्ब ६ करोड ९२ लाख रुपैयाँ कर्जासहित दोस्रो स्थानमा रहेको छ। कम्पनीको कर्जा प्रवाह अघिल्लो वर्षको तुलनामा ५.८० प्रतिशतले घटेको छ। नेशनल लाइफ इन्स्योरेन्स १२ अर्ब ३३ करोड २५ लाख रुपैयाँ कर्जासहित तेस्रो स्थानमा रहेको छ, जसको कर्जा लगानी १२.८२ प्रतिशतले घटेको छ।

हिमालयन लाइफले भने ७.७२ प्रतिशतको वृद्धि गर्दै ८ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। एशियन लाइफले ५ अर्ब २४ करोड ९९ लाख रुपैयाँ र सूर्यज्योति लाइफले १०.५२ प्रतिशतको वृद्धिसहित ५ अर्ब १७ करोड ११ लाख रुपैयाँ पोलिसी लोन प्रवाह गरेका छन्।

सानिमा रिलायन्स लाइफले २३.३३ प्रतिशतको उल्लेखनीय वृद्धिसहित १ अर्ब ९२ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। मेट लाइफको पोलिसी लोन १ अर्ब ७५ करोड ५९ लाख रुपैयाँ पुगेको छ।

नयाँ कम्पनीमध्ये प्रभु महालक्ष्मी लाइफ र आइएमई लाइफले तीव्र वृद्धि गरेका छन्। प्रभु महालक्ष्मी लाइफले २३.३३ प्रतिशत वृद्धिसहित १ अर्ब ५० करोड ७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने आइएमई लाइफले ३०.४४ प्रतिशतको वृद्धिसहित १ अर्ब २५ करोड ९२ लाख रुपैयाँ पोलिसी लोन उपलब्ध गराएको छ।

सिटिजन लाइफको बीमित कर्जा २१.६८ प्रतिशतले बढेर १ अर्ब २२ करोड ८० लाख रुपैयाँ पुगेको छ। साना कम्पनीमध्ये सन नेपाल लाइफले ७७ करोड ९ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले २५.६४ प्रतिशतको वृद्धिसहित ६६ करोड ३८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

जीवन बीमा कम्पनीहरूको पोलिसी लोन बीमितका लागि आवश्यक पर्दा सहज वित्तीय स्रोतका रूपमा प्रयोग हुने गरेको छ। पछिल्ला वर्षहरूमा केही कम्पनीको कर्जा प्रवाह घटे पनि नयाँ र मध्यम आकारका कम्पनीहरूले भने आक्रामक रूपमा आफ्नो पोलिसी लोन व्यवसाय विस्तार गरिरहेका छन्।

सम्बन्धित समाचार