काठमाडौं । ट्याक्सी चालकहरुको सिन्डीकेट अन्त्य गराएको टुटल र पठाओलाई फेरि सरकारले रोक्ने तयारी गरेको छ । ट्याक्सी व्यवसायीको मनोमानीका कारण पठाओ र टुटल जस्ता प्रविधिजन्य सवारी अहिले राजधानीमा निकै लोकप्रिय भएका थिए । ट्याक्सी व्यवसायी तथा चालकले टुटल र पठाओलाई कानून विपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै बुधबार विभाग घेराउ गरेपछि सरकारले टुटल र पठाओलाई बन्द गर्ने तयारी गरेको हो । ट्याक्सी सञ्चालकहरुको दबावमा विभागले मंगलबार राति नै सूचना जारी गरेको हो । यसअघि पनि सरकारले पठाओ र टुटल जस्ता सवारीलाई प्रतिबन्ध लगाएको थियो । तर चौतर्फी दबावपछि सरकारको निर्देशनमा फेरि फुकुवा गरिएको थियो ।
सरकारले विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिँदै फेरि सूचना जारी गरेको हो । यातायात व्यवस्था विभागले मंगलबार राति जारी गरेको सूचनामा कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जानकारी दिएको छ । टुटल र पठाओ नामा उल्लेख नगरी जारी भएको सूचना कार्यान्वयन गरिएमा निजी सवारीलाई पनि भाडा लिएर यात्रु बोकिरहेका टुटल, पठाओलगायतका मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुनेछन् ।
२०७५ माघमा विभागले यस्तै कारवाही थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कारबाही रोक्न र निजी सवारीलाई भाडामा यात्रु बोक्न दिन निर्देशन दिएका थिए । ट्याक्सी व्यवसायीहरुले लामो समयदेखि सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउँदै आएका थिए ।