काठमाडौं । चिकित्सा क्षेत्रको समग्र सुधारको लागि लगातार अभियानमा रहेका अभियन्ता प्रा. डा. गोविन्द केसीले बिरामीलाई सरकारी गाडीमा अस्पताल ल्याउने व्यवस्था गर्न माग गरेका छन् । त्रिवि शिक्षण अस्पतालबाट उमेरहदका कारण सेवा निवृत्त भएपछि डडेल्धुरा अस्पतालमा रहेर बिरामीहरु हेरिरहेका डा. केसीले लकडाउनसँगै दूरदराजका विरामीहरु निजी गाडीलाई २० वा ३० हजारसम्म तिरेर अस्पताल आउन बाध्य भएको बताएका छन् । यही कारण मानिसहरु अस्पतालै नआई गम्भीर समस्या वा चोटपटकको पीडा सहेर बस्नु परेको भन्दै उनले भनेका छन्, त्यसका कारण समयमै उपचार गर्दा निको हुने समस्याहरुपछि समेत अनेक जटिलता र अपांगता देखिने तथा असामयिक मृत्युसमेत हुने अवस्था छ । उनले यातायात सेवा सुचारु नहुन्जेलका लागि सरकारी गाडीहरुमा बिरामीलाई अस्पताल ल्याउने विशेष व्यवस्था गर्न सरकारलाई अपिल गरेका छन् ।