काठमाडौँ । कोरोना संक्रमणको दर वृद्धिसँगै नेपालमा कोरोना भाइरसको महामारी यसै महिनाको अन्तिमदेखि साउनको पहिलो सातासम्म उच्च हुन सक्ने भन्दै सतर्कताका लागि आह्वान गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा आबद्ध चिकित्सकले असुरक्षित आवागमन र सर्वसाधारणले स्वास्थ्य सतर्कताप्रति गम्भीर नहुँदा कोरोना सङ्क्रमण जोखिम उच्च हुने आँकलन गरिएको बताएका हुन् । सीसीएमसीमा आबद्ध नेपाली सेनाका डा. नवीन फुयालले आगामी साउनको सुरुसम्म कोरोना सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि हँुदै जाने देखिएको बताए । परीक्षणको दायरा फराकिलो पारिएको साथै असुरक्षित आवागमनका कारण सङ्क्रमण गुणात्मक रूपमा फैलिन सक्ने बताइएको छ । ‘त्यस्तो अवस्थालाई ‘भयावह’ भन्न त नमिल्ला,’ उनले थपे, ‘महामारी सरकारको नियन्त्रणमै हुने छ । सम्भावित चुनौतीको सामना गर्न आवश्यक कार्ययोजना र तयारीका सम्बन्धमा सरकारलाई सुझावसमेत पेस गरिसकेको छ ।’