काठमाडौं । राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई बर्खास्तीका लागि प्रष्टीकरण सोधिएपछि नेपाल राष्ट्र बैंकभित्र डेपुटी गभर्नरको खेल शुरु भएको छ । नयाँ बन्ने डेपुटी गभर्नरले पाँच वर्ष नै काम गर्न पाउने छन्। अहिले कार्यरत सबै १७ जना कार्यकारी निर्देशकहरू डेपुटी गभर्नर बन्न योग्य छन्। तर तर आफ्ना मान्छेलाई भावी गभर्नर बनाउन अहिले नै खेलोमेलो मिलाउनु पर्ने हुन्छ । त्यसैले भावी गभर्नरका लागि शक्ति केन्द्रको आशिर्वाद लिन दौडधूप शुरु भइसकेको बताइन्छ ।
अर्थमन्त्रीको प्राथमिकतामा वरिष्ठ कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला छन्। उनी अर्को महिना अवकास हुने भएकाले सोमबारबाटै बिदामा बसिसकेका छन्। प्रदेश ५ सरकारको योजना आयोगका उपाध्यक्ष भइसकेका डा. प्रकाशकुमार श्रेष्ठ पनि डेपुटी गभर्नरका बलिया उम्मेदवार मानिन्छन् । प्रधानमन्त्रीका निकट ५ नम्बर प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलको आग्रहमा श्रेष्ठ त्यहाँको आयोगको उपाध्यक्ष बनेका थिए। अर्थमन्त्री डा. युवराज खतिवडा निरौलाकै पक्षमा छन् ।