काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरिबले पनि बीमा गर्नसक्ने योजना बनाउनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौँमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना ‘सही प्लान’ सञ्चालनमा ल्याएको अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष सिलवालले बीमाको बारेमा आम मानिसलाई बुझाउनुपर्ने आवश्यकता देखिएको बताए। बीमाको बारेमा स्थानीय तहलाई बुझाउनसके मात्र आम सर्वसाधारणले पनि सहजै बुझ्नसक्ने स्थिति रहेको उनले बताए। देशका प्रत्येक परिवार र व्यक्तिलाई कसरी आर्थिक रूपमा सुरक्षित र सहयोग गर्ने भन्नेबारेमा प्राधिकरणले काम गरिरहेको उनले बताए। मुलुकभित्र राष्ट्रिय बीमा नीति, प्रदेश बीमा नीति र स्थानीय तहको बीमा नीति हुनुपर्ने अध्यक्ष सिलवाल बताउँछन्। आउने समय बीमाको हिसाबमा अझै सुखमय हुने अध्यक्ष सिलवालले बताए। आम सर्वसाधारणलाई किन बीमा गर्ने र बीमा गर्दा के हुन्छ भन्ने कुराको आवश्यकता बुझाउन जरुरी रहेको उनले बताए। ७० वर्षको मानिसले प्रिमियम फिर्ता पाउँछ भने ७५ वर्षको मानिसले के गर्ने ? भन्नेबारेमा पनि सोच्न जरुरी रहेको सिलवालले बताए। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ४० हजारमा २५ लाख कभरेजको नयाँ जीवन बीमा योजना ल्याएको हो। कम्पनीले कम बीमा शुल्क तिरेर ठूलो रकमको बीमा गर्न सकिने गरी उक्त योजना अघि सारेको बताएको छ।