काठमाडौं । पछिल्ला तीन साताको आइतबार ओरालो लागेको नेप्से, यस साताको आइतबार भने बढेर बन्द भएको छ। गत महिना अर्थात साउन महिनाको अन्तिम आइतबार बढेको नेप्से, त्यसपछिका तीन वटै आइतबार घटेको थियो। भदौ महिनामा आइतबार बढेको यो पहिलो पटक हो। यस अघिका तीनवटै आइतबार नेप्से नकारात्मक भएर बन्द भएको थियो। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १०.२३ अंक बढेर १९४२.६८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०।७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८२ अंक बढेको छ। यस दिन २७६ स्टकको ३३ हजार ६४ पटकको कारोबारमा १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँ बराबरको ४३ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन चार स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, शुभम् पावर, न्यादी हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन थ्रीस्टार हाइड्रोपावरको शेयर करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ७.८१ प्रतिशत घटेको छ। गत साता कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको थियो। कारोबार रकमका आधारमा यस दिन हिमाल दोलखा हाइड्रोपावर नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन माछापुच्छ्रे बैंक र शिवम् सिमेन्ट्सको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक घटेको छ भने बाँकी १२ उपसमूहको परिसूचक बढेको छ। यस दिन वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस दिन ०.१४ प्रतिशत घटेको हो।