काठमाडौं । आजबाट सरकारले लकडाउन खुकुलो बनाउँदै जनजीवन सामान्य बनाउने प्रयास गरेको छ । तर संक्रमणको दर हेर्दा डरलाग्दो छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा ४ सय ५१ जनालाई कोरोना भाइरसको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले नियमित बिफिङका क्रममा ४१६ पुरुष र ३५ जना महिलालाई कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिनुभयो । यो संगै कोरोना संक्रमितको संख्या ६ हजार २११ पुगेको छ । जसमा ५ हजार ७४० पुरुष र ४७१ महिला रहेका छन् । देशभर ७३ जिल्लामा संक्रमण फैलिएको छ । आज ३० जिल्लाका व्यक्तिलाइ संक्रमण पुष्टि भएको छ जसमा दैलेखका ९१, सुर्खेतका १९, मोरङका २२, पर्साका १०, रौतहटका १०२, तनहुँका ५, अछामका ३, कैलालीका २, डोटीका ४, बाँकेका ५, बर्दियाका १६, प्यूठानका ३, महोत्तरीका ३०, धनुषाका ४, नुवाकोटका ३, अर्घाखाँचीका ३, चितवनका ३, गुल्मीका ९, सुनसरीका ३, झापाका १, रोल्पाका ४, काठमाडौंका ४, दाङका ४३, बाराका १, कपिलवस्तुका १, पाल्पाका १०, रुपन्देहीका १२, धादिङका ९,सर्लाहीका २३ र सिराहामा ४ जना रहेका छन् ।
चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
पर्साको नारायणी अस्पतालमा गरिएको परीक्षणमा ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको विन्दवासीनी क्वारेन्टाइनमा खटिएका ३९, ५६, ४३, बर्षका तीन जना पुरुष र एक ३२ बर्षीया महिला स्वास्थ्यकर्मीमाकोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख डा. मदनकुमार उपाध्यायले बताउनुभयो ।
यसैगरी पछिल्लो २४ घण्टामा ६७ जना डिस्चार्ज भएका छन् । देशभर डिस्चार्ज हुनेको सख्या १०४१ पुगेको छ जसमा छ ९३७ पुरुष र १०४ जना महिला रहेका छन् । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ३०६ जनाको पीसीआर परीक्षण भएको जानकारी दिदै हालसम्म पीसीआरबाट १ लाख ३८ हजार ६८३ जनाको परीक्षण भएको बताउनुभयो । हालसम्म आरडीटिबाट २ लाख १९ हजार ३३६ को परीक्षण भएको छ जसमा पछिल्लो २४ घण्टामा ८ हजार ६१५ जनाको आरडीटिबाट परीक्षण भएको छ । आज १ लाख ४३ हजार ६४१ जना क्वारेन्टाइनमा बसिरहेका छन् । हाल ५ हजार १५१ संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
राजधानीमै थपिए ५ कोरोना संक्रमित
काठमाडौं र ललितपुरमा गरि थप ५ जनालाई कोरोना भाइरसको पुष्टि भएको छ । काठमाडौंका ४ र ललितपुरका १ जनालाई कोरोना पोजेटिभ पुष्टि भएको हो । काठमाडौंका २ पुरुष,२ महिला र ललितपुरका १ महिलालाई कोरोना पुष्टि भएको हो ।