काठमाडौं । नेकपा (माधव प्रचण्ड) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको थप उपचारको निम्ति भारतको मुम्बई जाँदै हुनुहुन्छ । आज बिहान सवा ११ बजेको नेपाल वायुसेवा निगमको उडानबाट छोरीहरू रेणु र गंगा पनि सँगै जान लागेको बताइएको छ ।
पत्नी सीताको झण्डै तीन साताको उपचारको लागि प्रस्थान गर्न लाग्नुभएका दाहाल सबै बन्दोबस्त मिलाएपछि दुई चार दिनमा स्वदेश फर्कनुहुने पारिवारिक स्रोतले बताएको छ । बिरामी कुर्नको लागि दिदी र बहिनीले पालो मिलाएबमोजिम पहिले बहिनी गंगा र त्यसपछि दिदी रेणुले पालो दिने बुझिएको छ । अस्पतालको सबै प्रक्रिया मिलाइसकिएकाले अस्पताल पुर्याएलगत्तै उपचार थालिने र बिरामी कुरुवा मात्रै बाहिरको होटलमा बस्नुपर्ने छ ।
स्रोतले अध्यक्ष दाहालको मुम्बईमा रहँदा कुनैपनि राजनीतिक भेटघाटको कार्यक्रम नरहेको बताएको छ । तर, आज दिल्लीको तीन घण्टे ट्रान्जिटमा पूर्व प्रधानमन्त्रीको नाताले भिआइपी कक्षमा भारतीय अधिकारीहरु शिष्टाचार भेटका निम्ति आउन सक्ने सम्भावना पनि देखिन्छ ।
सीता दाहाल पार्किन्सन जस्तै देखिने एक जटिल रोगबाट ग्रसित छिन् । त्यसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)’ भनिन्छ । नेशनल हेल्थ सर्भिस, ब्रिटेनका अनुसार पीएसपी एक दुर्लभ स्थिति हो, जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । मस्तिष्कको कोषिकामा क्षति हुँदा यस्तो समस्या देखिने विज्ञ चिकित्सकहरुले बताएका छन् ।
पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई सोमबार मुम्बई लगेर न्युरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापी गराइने बताइएकाे छ ।