काठमाडौं । तत्काल कुनै पनि बीमा कम्पनीलाई पुँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्न नदिने बीमा समितिको निर्देशनकै बीचमा दुई निर्जीवन बीमा कम्पनीले हकप्रद शेयर निष्काशनका लागि अनुमति पाएका छन् । यसरी अनुमति पाउने बीमा कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनी र आइएमई जनरल इन्स्योरेन्स कम्पनी रहेका छन् । धितोपत्र बोर्डको बैठकले दुई कम्पनीको निवेदनका आधारमा हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो। शिखरले ५२ करोड ७५ लाख रुपैयाँ र आइएमई जनरलले ४६ करोड ३० लाख रुपैयाँको हकप्रद शेयर निष्काशनका लागि बोर्डबाट अनुमति पाएका छन् । बीमा समितिले यी दुई कम्पनी बाहेक अन्य बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्काशनको लागि रोकेर राखेको छ । बीमा समितिले चालु आर्थिक वर्षमा कुनै पनि कम्पनीलाई हकप्रद शेयर निष्काशनको प्रस्ताव नै अगाडि नबढाउन निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्ड विगत ५ महिना भन्दा लामो समयदेखि अध्यक्ष विहिन छ । अध्यक्ष नहुँदा बोर्डले हकप्रद तथा प्राथमिक शेयर निष्काशनको अनुमति दिएको थिएन ।