काठमाडौं । दुई तिहाई बहुमतको सरकार असफल भएको चौतर्फी आलोचना भइरहेका बेला सरकारले केही मन्त्रीहरुलाई हटाएर सरकार असफल भएको विषयलाई विषयान्तर गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दै सात मन्त्री हटाएर आठ जना मन्त्री नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालय, शितलनिवासमा आज बिहान ११ बजे नवनियुक्त मन्त्रीहरुको शपथग्रहण राखिएको छ । सपथ ग्रहणका लागि हिजै राष्ट्रपति कार्यालय तयारी अवस्थामा रहेको थियो । तर मन्त्रीहरुको नियुक्ति राति अबेर मात्रै भएका कारण सपथग्रहण आज बिहानलाई राखिएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले कार्यसम्पादनमा कमजोर मानिएका ७ जना मन्त्री फालिएका छन् । जसअनुसार पूर्व एमाले समूहबाट मन्त्री भएकाहरु भौतिक पूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ । त्यस्तै पूर्व माओवादीको कित्ताबाट कृषिमन्त्री चक्रपाणि खनाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।
को को थपिए ?
प्रधानमन्त्री ओलीले बुधबार साँझ आठ जनाको नाम मन्त्रीका लागि राष्ट्रपति समक्ष सिफारिश गरेपछि राष्ट्रपतिले हिजै नयाँ मन्त्री तथा राज्यमन्त्री नियक्त गरेकी छिन् । उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा रहेका उपेन्द्र यादवलाई कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रलायको जिम्मेवारी तोकिएको छ भने कानुनमन्त्री रहेका भानुभक्त ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी घनश्याम भुसाल, पार्वत गुरुङ, बसन्त नेम्वाङ, हृदयेश त्रिपाठी, लेखराज भट्ट र रामेश्वर राय यादवको नाम मन्त्रीका लागि सिफारिश गरिएको छ । छ भने राज्यमन्त्री नियुक्तिका लागि मोतीलाल दुगड, नवराज राउत र रामबीर मानन्धरलाई सिफारिश गरिएको थियो ।
नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै भुसाललाई कृषिमन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन र पार्वत गुरुङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रयको जिम्मेवारी दिइएको छ । रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री बनेका छन् । त्यसैगरी तीन जनालाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । जसअनुसार मोतीलाल दुगड, उद्योग बाणिज्य तथा आपूर्ति, नवराज राउत स्वास्थ्य तथा जनसंख्या, रामवीर मानन्धर शहरी विकास रहेका छन् । त्यसैगरी राज्यमन्त्रीको पद गुमाउनेमा डा. सुरेन्द्र यादव, स्वास्थ्य तथा जनसंख्या, रामकुमारी चौधरी, कृषि र धनबहादुर बुढा पर्यटन तथा नागरिक उड्डयन रहेका छन् ।