free website hit counter

नयाँ मन्त्री ब्रिफिङमै व्यस्त

beemaadmin
२०७६ मंसिर १०, मंगलवार

काठमाडौं । नयाँ मन्त्रीहरु अहिले सम्बन्धित मन्त्रालय र मातहतका कार्यालयको ब्रिफिङ लिन व्यस्त छन् । पुरानै ढर्रा अपनाएका नवनियुक्त मन्त्रीहरुले बहाली भएको भोलिपल्टैदेखि ब्रिफिङ लिन थालेका मन्त्रीहरु अहिलेसम्म पनि ब्रिफिङ लिइरहेका छन् ।

मन्त्रालय परिवर्तन गरिएका स्वास्थ्य मन्त्री भानुभक्त ढकाल बधाई सँगसँगै मन्त्रालय र मातहतका कार्यालयको ब्रिफिङ लिइरहेका छन् भने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको क्रियाशीलता पनि त्यस्तै छ । कर्मचारी समायोजन र सरुवा बढुवा लगायतका कार्यलाई आइतबारदेखिनै स्थगित गरेको मन्त्रालयमा अहिले कर्मचारीको भीडभाड कम हुन थालेको छ । कम भीडभाड भएको मौका छोपेर मन्त्री कर्मचारीहरुसँग मन्त्रालयको वस्तुस्थिति बुझ्न व्यस्त छन् ।

स्वास्थ्य मन्त्रालयबाट कानुनमा सरुवा गरिएका उपेन्द्र यादव सोमबार १ बजे मन्त्रालयमा हाजिर भए । पदबहाली गरेसँगै पत्रकारहरुसँगको संक्षिप्त कार्यक्रममा उपस्थित भएका यादव त्यसलगत्तै सचिव राजीव गौतम र सहसचिवहरुलाई कार्यकक्षमा बोलाएर मन्त्रालयको वस्तुस्थिति बुझ्ने काम गरेका थिए । उनले आफू आउनुअघि भएको उच्च अदालतको न्यायाधीश सिफारिशका बारेमा सचिवसँग जिज्ञासा राखेको स्रोतले बताएको छ ।

त्यसैगरी भौतिक योजना निर्माण तथा यातायातमन्त्री बसन्त नेम्वाङले पनि मन्त्रालयमा बधाईसँगै मातहतका कार्यालयहरुको बिफिङ लिइरहेका छन् । निवर्तमान भएका मन्त्रीहरु रघुवीर महासेठ, मातृका यादव निर्वाचन क्षेत्रमा मतदातासँग भलाकुसारी गर्न पुगिसकेका छन् भने लालबाबु पण्डित भने डेरा खोज्नमै व्यस्त छन् ।

सम्बन्धित समाचार