काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले नयाँ लघु बीम कम्पनीले पेश गरेका बीमा पोलिसी स्वीकृत गरेसँगै कारोबार गर्ने बाटो खुला भएको छ । बीमा कम्पनीहरुले आफ्नो एक्चुरी मार्फत पोलिसी बनाएर प्राधिकरणमा पेश गरेको लामो समयपछि पोलिसी स्वीकृत भएको हो । पोलिसी स्वीकृत भए सँगै गार्डियन माइक्रोइन्स्योरेन्स कम्पनीले व्यवसाय शुभारम्भ गर्दैछ भने अन्य तीन वटा कम्पनीले पनि छिट्टै व्यवसाय शुभारम्भ गर्ने तयारी गरिरहेका छन् । पोलिसी स्वीकृत भएर पनि नयाँ लघु बीमा कम्पनीहरुले अभिकर्ताको च्यानल भने अझै निर्माण गर्न सकेका छैनन् । प्राधिकरणका उच्च व्यवस्थापन तह र कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापन तह विच अन्य बीमा कम्पनीमा काम गरिरहेका अभिकर्तालाई नै स्वत अभिकर्ता बनाउन पाउने भन्दै सहमति भए पनि प्राविधिक रुपमा नमिल्ने भन्दै प्राधिकरणले अन्तिममा आएर अस्वीकार गरेको थियो । यसले गर्दा बीमा कम्पनीहरुले अभिकर्ताको परिक्षाका लागि प्राधिकरणमा निवेदन दिएका छन् । प्राधिकरणले परिक्षाका लागि स्वीकृति दिए सँगै उनिहरुले परिक्षा लिएर अभिकर्ता लाइसेन्सको प्रकृयाँ अगाडि बढाउन पाउने छन् । यसका लागि अझै केहि समय लाग्ने भए पछि उनिहरुले अभिकर्ता विनानै डिजिटल प्रणालीबाट पोलिसी काट्ने व्यवस्था मिलाएका छन् । अहिलेलाई डिजिटल प्रणालीबाट अभिकर्ता विनानै पोलिसी बिक्री गर्ने र अभिकर्ता बने पछि अभिकर्ता मार्फत पोलिसी बिक्री गर्ने योजना बनाएका छन् ।