free website hit counter

नवनियुक्त सीईओ बज्राचार्यले सम्हाले जिम्मेवारी

beemaadmin
२०७७ भाद्र २, मंगलवार

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले आफ्नो जिम्मेवारी सम्हालेका छन् । बैंकमा आयोजित एक कार्यक्रमबीच बज्राचार्यले ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् । पदभार सम्हाल्नुअघि बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उनलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले अहिलेको बैंङ्किङ क्षेत्रको चुनौतिलाई सफलतापूर्वक सम्पन्न गर्न सक्ने नेतृत्व पाएको बताए । ढकालले भने, उहाँ एक अब्बल बैंकर हो । ग्लोबल आइएमईले उहाँलाई दोस्रो कार्यकालका लागि पाएको छ । यो हाम्रो लागि पनि एउटा अवसर हो । यसअघि बैंक मर्जर र मर्जरपछिको व्यवस्थापनमा उहाँले खेलेको भूमिका सरहानीय रहेको थियो ।

अबका दिनमा पनि बैंकलाई देशकै सबैभन्दा उत्कृष्ट र सबल बैंकको रुपमा स्थापित गर्न उहाँको भूमिका रहने छ । कार्यक्रममा बोल्दै बज्राचार्यले ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई बनेको देशकै ठूलो बैंकको नेतृत्व गर्न पाउनु आफूलाई चुनौति र अवसर दुवै रहेको बताए ।उनले बैंकलाई थप मजबुत बनाउँदै बैंकको सेवालाई सरल र सहज बनाउने चुनौति आफ्नो सामु रहेको बताए ।

मर्जरपछि धेरैजसो सूचकहरुमा ग्लोबल आइएमई बैंक देशकै ठूलो र एउटा उत्कृष्ट बैंकको रुपमा रहेको छ । यसलाई थप उचाइमा पुर्याउने र यसको सेवालाई ७७ वटै जिल्लामा विस्तार गरी सबैका लागि बैैंक भन्ने मूल नारालाई साकार पार्ने गरी मैले काम गर्नेछु, उनले भने । बैंकको सञ्चालक समितिको साउन ३० गते शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । चार दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहेका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसकेका छन् ।

सम्बन्धित समाचार