काठमाडौं । नेकपाभित्रको विवाद चर्को रुपमा चुलिएका बेला सुरक्षा थ्रेट बढेको भन्दै नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरक्षाकर्मी बाक्लिएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी पुगेर सर्च समेत गरेका छन् । हतियारसहित प्रहरीले कडा सुरक्षा दिएका छन् । नेपाली सेनाले तालिमप्राप्त कुकुरबाट सर्च गरेको छ । पछिल्लो समय नेकपाभित्र विवाद चुलिंदै जाँदा सुरक्षाकर्मी पार्टी कार्यालयमा बढाइएको छ । आज स्थायी कमिटी बैठक बस्नु अगावै नेकपा केन्द्रीय कार्यालय वरिपरि ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । सादा पोशाकका सुरक्षाकर्मी पनि ठुलो संख्यामा खटिएका छन् । नेकपा पार्टी कार्यालय वरिपरि पछिल्लो समय सुरक्षा निगरानी समेत बढाइएको बुझिएको छ । यसलाई निकै गम्भीरताका साथ लिइएको छ ।
स्थायी कमिटी बैठकमा को को ?
नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा चलिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकको अध्यक्षता गरिरहेका छन् । तर, वरियतामा पहिलो रहेका अध्यक्ष केपी शर्मा ओली आएनन् । उनको अनुपस्थितबीच उनको पक्षका सबै सचिवालय सदस्यहरु सहभागी छन् ।
बैठकमा स्थायी कमिटी सदस्यहरु भीम रावल, रघुजी पन्त, वेदुराम भुषाल, पृथ्वी सुब्बा गुरुङ, देब गुरुङ, लेखराज भट्ट, शंकर पोख्रेल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, किरण गुरुङ, शक्ति बस्नेत,जनार्दन शर्मा पनि उपस्थित छन् । स्थायी कमिटी सदस्यहरु घनश्याम भुषाल, योगेश भट्टराई, पम्फा भुषाल, अष्टलक्ष्मी शाक्यलगायत पनि उपस्थित छन् ।