काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुग्दा कोरोनाबाट पहिलो व्यक्तिको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड १९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए । तर उनलाई ज्वरो आउने र खोकी लाग्ने तथा स्वासप्रश्वासमा समस्या आएपछि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा उनको निधन भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ अयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ । यद्यपि उनको मृत्यु कोरोनाकै कारण भएको घोषणा गर्नुपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नै अध्ययन टोली धुलिखेल अस्पतालमा पठाएको थियो ।
टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ । मृतकको घर र माइती गाउँलाई सिल गरिएको छ । मृतकको घर बाह्रबिसे नगरपालिका ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिएका छन् । उनकाअनुसार माइती गाउँबाट आफन्तहरु भेट्न गएकाले गाउँ पनि सिल गरिएको हो । सिल गरिएका वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन् ।