काठमाडौं । डब्लुएचओको अति जोखिमबाट उच्च जोखिममा झरेको नेपालमा कोरोना संक्रमित थपिनेक्रम जारी छ । नयाँ संक्रमित भन्दा पनि निको भएका व्यक्तिलाई पुनः संक्रमण देखिनु अर्को समस्या बनेको छ । निको भएर घर फर्किएका तीन जनामा पुनः कोरोना भाइरसको संक्रमण देखिएको हो । रौतहटका एक युवक, वीरगञ्जको छपकैयास्थित मस्जिदका एक जना जमाती र काठमाडौंस्थित सनसिटी अपार्टमेन्टका ५८ वर्षीय पुरुषमा पुनः संक्रमण देखिएको हो ।कोरोना संक्रमित रौतहटका १९ वर्षीय युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका दुबै जना निको भएर वीरगञ्जको नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज भएका थिए । भारतबाट आएका रौतहटका एक युवकमा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी १४ दिनको हस्पिटल बसाई पछि डिस्चार्ज भएको थिए । छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा चैत ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा पनि पुनः कोरोना संक्रमणको पुष्टि भएको छ । वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको उनी निको भएर वैशाख ११ गत घर फर्किएका थिए ।