काठमाडौं । नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७ देखि २०३० सम्मको रणनीतिक सहकार्यबारे उच्चस्तरीय छलफल भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगानको नेतृत्वमा आएको टोलीबीच भएको बैठकमा आगामी चार वर्षका लागि खोप सहयोग, सह-वित्तीय लगानी तथा राष्ट्रिय खोप कार्यक्रमको वित्तीय दिगोपनाका विषयमा छलफल भएको हो।
बैठकमा गाभीले सन् २०२७ देखि २०३० सम्म नेपाललाई ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप तथा १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ। प्रस्तावअनुसार नेपालले भने १ करोड ७१ लाख अमेरिकी डलर सह-वित्तीय लगानी गर्नुपर्नेछ।
नेपाल र गाभीबीच सन् २००१ देखि सहकार्य हुँदै आएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २५ वर्षको अवधिमा गाभीले नेपालमा ५५ करोड अमेरिकी डलरभन्दा बढी बराबरको खोप, कोल्ड चेन पूर्वाधार तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग गरेको छ।
हाल गाभीले नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत उपलब्ध गराउने ११ प्रकारका खोपमध्ये पाँच प्रकारका खोपमा सह-लगानी गर्दै आएको छ भने एक प्रकारको खोप निःशुल्क उपलब्ध गराउँदै आएको मन्त्रालयले जनाएको छ।
परिवार कल्याण महाशाखाअन्तर्गत सञ्चालित राष्ट्रिय खोप कार्यक्रममार्फत नियमित खोपका साथै विभिन्न खोप अभियान सञ्चालनमा समेत गाभीको सहयोग रहँदै आएको छ।
बैठकमा विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोत घट्दै गइरहेको अवस्थामा नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई आगामी दिनमा कसरी दिगो बनाउने भन्ने विषयमा समेत छलफल भएको थियो।
गाभीका प्रतिनिधिहरूले राष्ट्रिय खोप कार्यक्रममा मन्त्री मेहताले देखाएको नेतृत्व तथा नेपालले खोपको क्षेत्रमा हासिल गरेको प्रगतिप्रति प्रशंसा गर्दै आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।