काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । नेपालको सबैभन्दा पुरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षमा कोरोना महामारीका बीचमा पनि सबै सूचांकमा प्रगति गरेको छ । सो कम्पनीले ६५ करोड ३७ लाख ६७ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ५४ करोड १२ लाख ८० हजार रुपैयाँ रहेको थियो । अघिल्लो वर्ष एक अर्ब १७ करोड ८९ लाख ९२ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको कम्पनीले गत आवमा एक अर्ब १७ करोड ७४ लाख दुई हजार रुपैयाँ आम्दानी गरेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीले गत आवमा १७ करोड ८५ लाख २१ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । अघिल्लो आवमा कम्पनीले २२ करोड ८८ लाख ७० हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । गत आवमा लकडाउनका कारण करिब पाँच करोड रुपैयाँ दावी भुक्तानी घटेको हो । कम्पनीको दावी भुक्तानी घटे पनि मुनाफामा भने वृद्धि भएको छ । अघिल्लो आवमा २१ करोड चार लाख ८१ हजार रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले गत आवमा २३ करोड ६५ लाख दुई हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अभिकर्तालाई दुई करोड २४ लाख आठ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको लगानी तथा अन्य आम्दानी बापतको रकम भने घटेको छ ।
अघिल्लो वर्ष आठ करोड भन्दा बढि रहेको यस्तो आय यस वर्ष छ करोड ८३ लाख २३ हजारमा सीमित भएको छ । वित्तीय विवरणमा अनुसार कम्पनीले १० करोड ५० हजार रुपैयाँ नेपाल सरकारलाई आयकर बुझाएको छ । अघिल्लो वर्ष कम्पनीले आठ करोड १९ लाख ९७ हजार रुपैयाँ कर बुझाएको थियो । कम्पनीको बीमा कोष र जगेडा कोषमा जम्मा ८१ करोड २९ लाख ७४ हजार रुपैयाँ जम्मा छ । अघिल्लो वर्ष ६५ करोड २९ लाख चार रहेको रहेको कोषमा यस वर्ष उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको हो । यद्यपि कम्पनीले महाविपत्त जगेडा कोषमा रकम व्यवस्था गरेको वित्तीय विवरणमा देखाएको छैन ।