काठमाडौं । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले चैत मसान्तसम्म २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७८ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो। यस वर्ष भने नाफामा सामान्य रूपमा ०.३४ प्रतिशत वृद्धि देखिएको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ प्रतिशतले बढेर ७ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७ अर्ब १० करोड ७ लाख रुपैयाँ थियो।
बैंकको कुल सञ्चालन आम्दानी पनि वृद्धि हुँदै ८ अर्ब ७७ करोड ९० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ८ अर्ब ५६ करोड ८६ लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा उल्लेखनीय रूपमा १२.५२ प्रतिशतले बढ्दै ४ अर्ब ८५ करोड २८ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा वितरणयोग्य मुनाफा ३० करोड ६२ लाख रुपैयाँबाट बढेर ३२ करोड १३ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी पनि २५.२६ रुपैयाँबाट बढेर २५.३४ रुपैयाँ पुगेको छ।
सकारात्मक पक्षका रूपमा बैंकको खराब कर्जा अनुपात ५.४५ प्रतिशतबाट घटेर ४.९६ प्रतिशतमा झरेको छ। साथै, प्रतिशेयर नेटवर्थ २७२.७९ रुपैयाँ र बेस रेट ४.७१ प्रतिशत कायम रहेको छ।
हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २५ अर्ब ६ करोड ८८ लाख रुपैयाँ सञ्चिति छ। चैत मसान्तसम्म बैंकले २ खर्ब ३९ अर्ब ४४ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ र ३ खर्ब ८४ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।