काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको फागुन २७ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा वीरगन्जको होटेल भिष्वामा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७६–७७ प्रस्तावित कुल १४.७३६४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा बोनस सेयर १४ प्रतिशत र कर प्रयोजनार्थ ०.७३६४ प्रतिशत नगद लाभांश छन्। बोनस सेयर वितरणपछि जारी पुँजी र चुक्ता पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। सभाले कम्पनीको सेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने विशेष निर्णय पनि परिवर्तन गर्नेछ। हाल कम्पनीमा संस्थापक समूहको ६० र सर्वसाधारण समूहको ४० प्रतिशत हिस्सा रहेको छ।
सोही सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ। सभाले आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो चैत ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।